काठमाडौं –प्रदेश नम्बर १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा डिआईजी गिरीले प्रहरी कर्मचारीलाई उत्कृष्ट कार्य गर्न निर्देशनसमेत दिएका छन् ।
डिआईजी गिरीले प्रहरी कार्यालय निरीक्षण भ्रमणका क्रममा नागरिकको जीउधनको सुरक्षालाई प्राथमिकतामा राख्न निर्देशन दिए । यसैगरी डिआईजी गिरीले सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न पनि प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
डिआईजी गिरिले निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पूर्ण शाखाहरु समेतको निरीक्षण गरेका थिए । उनले प्रहरी अधिकृत तथा जवानहरुले सँधै उच्च मनोबलका साथ काम गर्नुपर्ने पनि बताए ।
यसैगरी डिआईजी गिरीले अनुसन्धान कार्यलाई गुणस्तरीय रुपमा सम्पन्न गर्नको लागि तदारुकता अपनाई अनुसन्धानात्मक कार्यलाई बस्तुनिष्ठ, पारदर्शी, विश्वासनिय बनाई जनआस्था निर्माण गर्न र आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मानसिक तथा शारीरिक रूपमा तयार रहन सम्पूर्ण कर्मचारीहरू लगायत तालिमरत म्यादी प्रहरीहरु समेतलाई निर्देशन दिएका छन् ।
उनले प्रहरी सेवाको प्रभावकारिता, जिल्लाको शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापनमा प्रहरीको प्रयास , मानव अधिकार प्रवर्धनमा प्रहरीको भुमिका, लगायत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको हिरासत लगायत सम्पुर्ण शाखाहरुको कामकारबाहीको पनि निरीक्षण गरेका छन् ।