सुदूरपश्चिम– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली जिल्लाका अस्थायी मतदाताका लागि विभिन्न आठ स्थानमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।


ADVERTISEMENT


प्रदेश निर्वाचन कार्यालयका कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका–२ को वनदेवि मन्दिर र वडा नं ४ को महादेव मन्दिर परिसरलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै गौरीगङ्गा नगरपालिका–६ को बाह्रवन साझेदारी वन व्यवस्थापनको कार्यालय, वडा नं ८ को बडैपुर वडा कार्यालय, लम्कीचुहा नगरपालिका–३ को वडा कार्यालय र टीकापुर नगरपालिका–१ को सिटी हललाई पनि अस्थायी मतदान केन्द्र तोकिएको छ ।

अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी र कारागारका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । यी मतदाताको सङ्ख्या जिल्लामा चार हजार सात सय ७६ रहेको छ । स्थायी मतदाता भने पाँच लाख ३५ हजार पाँच सय १४ छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले अस्थायी मतदाताले अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने बताउनुभयो । जिल्लामा स्थायी मतदानस्थल दुई सय ३७ र मतदान केन्द्र छ सय २९ तोकिएका छन् । समानुपातिक मतपत्रका साथै सबै निर्वाचन क्षेत्रमा मतपेटिका पु¥याइसकिएको छ ।

आवश्यक थप निर्वाचन सामग्री पठाउने तयारी भइरहेको कार्यालय प्रमुख भट्टले बताउनुभयो । पछिल्ला दिनमा प्रदेश निर्वाचन कार्यालयले निर्वाचनका लागि आफ्नो आन्तरिक तयारी तीव्र पारेको छ । यस क्रममा कार्यालयका कर्मचारीलाई हाल बिदाको दिनमा समेत निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने कामको चटारो बढेको छ ।

तयारीको क्रममा सुदूरपश्चिम प्रदेशका कैलालीसहित कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र र्‍पुयाइसकिएको छ । अछाम र बाजुरामा केही दिनभित्रै यी मतपत्र पु¥याइने छ ।

प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा (अस्थायी मतदाताबाहेक) १६ लाख ५६ हजार चार मतदाता छन् । प्रतिनिधिसभातर्फ कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् । पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक÷एक निर्वाचन क्षेत्र छन् । एक मतदान केन्द्रमा स्वयंसेवकसहित बढीमा ११ कर्मचारी खटाउन लागिएको छ । रासस