कास्की– जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ ।


ADVERTISEMENT


लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ । माछापुच्छ्रे–२ सार्दिखोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताए ।


ADVERTISEMENT

# # #


उहाँले भन्नुभयो, “पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका मुकाम जानसमेत पोखरा भएर जानुपर्ने बाध्यता छ । अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ । यसै वर्षभित्र पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो ।’ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको पहलमा पुल निर्माण थालिएको हो । उनले नै पुलको शिलान्यास गरेका थिए ।

माछापुच्छ्रे«–२ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको रु १० करोड ४३ लाख ५७ हजार लागतमा पुल निर्माण गर्न हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएको छ । पूर्वाधार विकास कार्यालय कास्कीका अनुसार सो पुल आगामी २०८० साउनसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ ७० मिटर छ ।

गण्डकी प्रदेश सरकारले पाँच वर्षको अवधिमा माछापुच्छ्रेमा दुई पक्की मोटरेवल पुल निर्माण गरेको छ भने तीनवटाको काम भइरहेको छ । माछापुच्छ्रे–६ इदीखोलामा भिँडाबारी र डाँडागाउँ जोड्ने गरी पक्की पुल बनेपछि सञ्चालनमा आएको छ ।

यसैगरी वडा नं ५ रिभानस्थित खहरेखोलामा समेत मोटरेवल पुल निर्माण गरिएको छ । वडा नं ६ र ४ लाहाचोक जोड्ने पक्की पुलका लागि गण्डकी प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख विनियोजन गरिएको छ । यसैगरी वडा नं १ को धिप्राङ खोलामा मोटरेवल पुल निर्माण गर्न रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए। रासस