काठमाडौं-दिगम चेमजोङ लिम्बुको अविजित ७९ रनप्रेरित नेपालले शनिबार बंगलादेशलाई ५४ रनले हराउँदै प्रथम अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिकोणीय प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई १ सय ६१ रनको विजयलक्ष्य दिएको थियो ।


ADVERTISEMENT


ओपनरद्वय दिगम र नवीन राईले अर्धशतक पूरा गरेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । १ सय ६१ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मात्र जोड्न सक्यो ।


ADVERTISEMENT

# # #


६२ बलमा १० चौकासहित अविजित ७९ रन बनाएका दिगमले नवीनसँग पहिलो विकेटका लागि १ सय ४९ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक स्कोर बनाउन सफल भएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा बंगलादेशलाई ९ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा भारतमाथि ६५ रनको विजय हासिल गरेको थियो । बंगलादेशले भारतलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

६२ बलमा १० चौकासहित अविजित ७९ रन बनाएका दिगमले नवीनसँग पहिलो विकेटका लागि १ सय ४९ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । दिगम प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले तीन खेलमा १ सय ३० रन बनाएका छन् । दोस्रो धेरै रन बनाउनेमा नेपालकै नवीन राई छन् ।

५२ बलमा ८ चौका सहित ५९ रन बनाएका नवीन १८ औं ओभरको अन्तिम बलमा पवेलियन फर्किएका थिए । नवीनलाई मोर्सद आलमले बोल्ड गरेका थिए । त्यसपछि नेपालले लगातार थप २ विकेट गुमायो । दिलबहादुर थिङ शून्यमा आउट हुँदा जंगबहादुर थापा ४ रन बनाएर पवेलियन फर्किए । दुवैलाई रिपोन उद्धिनले बोल्ड गरेका हुन् ।

भ्रमणकारी बंगलादेशले ब्याटिङमा राम्रो सुरुआत गर्न सकेन । तेस्रो ओभरमै ओपनर मोहम्मद मेथुलाई गुमाएपछि बंगलादेशले निरन्तर विकेट गुमायो । मोर्सद आलमले जोडेको २० रन बंगालदेशका ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै रन हो । उज्जल बैरागीले १७ र रिपोनले १३ रन जोडे । राजोन होसैनले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका विपिन पौड्यालले ३.२ ओभरमा १३ रन दिएर ३ विकेट लिए । विपिन प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् । विपिनले ३७ रन दिएर ७ विकेट लिए । दोस्रो स्थानमा रहेका यमबहादुर श्रेष्ठले ३० रन दिएर ४ विकेट लिएका छन् । शनिबार विष्णु अधिकारी, रामबहादुर तामाङ, र कप्तान हिमाल अर्यालको नाममा १-१ विकेट रह्यो ।