काठमाडौँ – भारत र पाकिस्तान अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनल प्रवेश गरेका छन् । आइतबार बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो भने भारत एक खेल अगावै सेमिफाइनल पुगेको हो ।


ADVERTISEMENT


अष्ट्रेलियाको एडिलेडमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा १२७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाउँदै जित हात पार्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ छक्कासहित ३१ रन तथा मोहम्मद ह्यारिसले १८ बलमा १ चौका र २ छक्कासहित ३१ रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान बाबर आजमले २५, शान मसूदले नटआउट २४ रनको योगदान दिए । बंगलादेशका लागि नसुन अहमद, कप्तान शाकिब अल हसन, मुस्ताफिजुर रहमान र इबादद हुसेनले समान १–१ विकेट लिए ।

यसअघि बंगलादेशका लागि ब्याटिङतर्फ नाजमुल हुसेन शान्तोले सर्वाधिक ५४ रनको योगदान दिए । यस्तै अफिफ हुसेन नटआउट २४ र सौमया सरकारले २० रनको योगदान दिँदा लिटन दास १० रनमा आउट भए । बंगलादेशलाई सस्तैमा समेट्नेक्रममा पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट चट्काए । यस्तै सदाब खान २, इफ्तिखर अहमद र ह्यारिस रौफले समान १–१ विकेट लिए ।

सेमिफाइनलमा पाकिस्तानको नाटकीय यात्रा

टी–२० विश्वकपको समूह–२ मा रहेको पाकिस्तानले ४ खेल खेल्दा २ जित र २ हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेको थियो । भारत ४ खेलमा ३ जित १ हारसहित ६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहदा दक्षिण अफ्रिका ४ खेलमा २ जित, १ हार र १ अनिर्णितसहित ५ अंकका साथ दोस्रो स्थानमा थियो ।

समूह चरणमा भारतले जिम्बाब्बेसँग खेल्न बाँकी रहँदा पाकिस्तानले बंगलादेशसँग खेल्न बाँकी थियो । यता दक्षिण अफ्रिकाले नेदरल्याण्डको सामना गर्दै थियो । यस हिसाबले पाकिस्तान सेमिफाइनल पुग्न बंगलादेशविरुद्ध जितेर मात्रै हुँदैनथ्यो, दक्षिण अफ्रिका एशोसिएट्स राष्ट्र नेदरल्याण्डसँग पराजित हुनुपर्थ्यो । जुन असम्भव हुने क्रिकेट विश्लेषकको अनुमान थियो ।

तर, खेलको नतिजा पाकिस्तानले चाहेको जस्तै भयो । नेदरल्याण्डले समूह चरणमा भारतलाई हराइसकेको टेष्ट राष्ट्र दक्षिण अफ्रिकामाथि सनसनीपूर्ण जित निकाल्यो । फलस्वरुप दक्षिण अफ्रिका विश्वकपबाट बाहिरियो भने पाकिस्तानको भाग्यको ढोका खुल्यो ।

यता भारत भने एक खेल अगावै सेमिफाइनल पुगेको छ । भारतले आजै जिम्बाब्बेसँग खेलिरहेको छ । भारतले जितेमा भारत समूह विजेताका रुपमा सेमिफाइनल पुग्नेछ भने हारेमा पाकिस्तान समूह विजेता बन्ने छ ।

समूह–१बाट समूहविजेताका रुपमा न्यूजिल्याण्ड र उपविजेताका रुपमा इंग्ल्याण्ड सेमिफाइन पुगिसेकेका छन् । सेमिफाइनलमा समूह–१ को विजेता र समूह २ को उपविजेता तथा समूह २ को उपविजेता र समूह १ को विजेता भिड्नेछन् ।

सेमिफाइनलमा जित हात पारेका भारत र पाकिस्तानको भेट फाइनलमा हुने पक्का भएको छ ।