बर्दिबास– महोत्तरीमा पछिल्लो दुई दिनदेखि बाक्लो हुस्सु र चिसोका कारण जनजीवन प्रभावित बनेको छ । चिसोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घटेको छ भने हुस्सु लागेकाले सडकमा सवारी साधनहरु बत्ती बालेर चलिरहेका छन् । जाडोका कारण महोत्तरीको बर्दिबास, गौशला, रामगोपालपूर र जलेश्वर सदरमुकाम लगायतका व्यापारिक ठाउँहरुमा चहलपहल कम भएको छ ।


ADVERTISEMENT


स्थानीय हाट बजारमा मानिसहरुको चलपहल कम हुँदा अन्य सामानको व्यापार घटे पनि जाडोको लुगाको व्यापार भने बढेको देखिन्छ । जाडोका कारणले मानिसहरु अति जरुरी कामबाहेक बाहिर निस्किन सकिरहेका छैनन ्। शुक्रबार बिहानदेखि नै राम्ररी घाम नलाग्दा चिसो बढेको हो ।


ADVERTISEMENT

# # #


चिसोका कारण बृद्धबृद्धा र बालबालिका बढि प्रभावित भएका छन् । चिसोकै कारण अस्पतालमा अहिले दैनिक ३० देखि ४० जना रुघाखोकी, भाइरल ज्वरो, श्वासप्रश्वास, हाडजोर्नी,निमोनिया,कुल डायरियाका बिरामी उपचारको लागि आउन थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजिव झाले बताए ।

उनले जाडोबाट बच्न तातो झोलिलो खानेकुरा बढि मात्रामा खानुपर्ने, न्यानो कपडा लगाउनु पर्ने र घरभित्रै बस्नु पर्ने र कुनै समस्या भए अस्पतालमा गएर उपचार गराउन सुझाव दिएका छन् ।

त्यस्तै जिल्लाभर चिसो बढे पनि स्थानीय विद्यालयहरु खुलिरहेका छन् । जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कारण बालबालिकाको पठनपाठन निरन्तर हुन नसकेकाले चिसोका कारण तत्कालै विद्यालय बन्द नगराइने तर जोखिमपूर्ण अवस्था आए जिल्ला शिक्षा समितिको बैठक बसेर निर्णय गर्न सकिने बताए ।