काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा डीपोर्टिभो ला कोरुनामाथि बार्सिलोनाले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोना कोरूनालाई ४–० ले हराएको हो। बार्सिलोनाको जितमा लुइस स्वारेज र पाउलिन्होले दुई-दुई गोल गरे। घरेलु मैदानमा भएको खेलमा स्टार स्ट्राइकर लियोनल मेसीले भने गोल गर्न सकेनन्। उनले पाएको पेनाल्टीमासमेत गोल गर्ने मौका गुमाए।


ADVERTISEMENT


खेलको २९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। खेलको ४१ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० ले अगाडि बढ्यो । दोस्रो हाफको ४७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता तेब्बर भयो।


ADVERTISEMENT

# # #


खेलको ७० औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो । तर, उक्त पेनाल्टीमा मेसीले गोल नसकेपछि थप अग्रता लिन सकेन। मेसीको प्रहार कोरूनाका गोलरक्षक रुबेनले बचाएका थिए।

त्यसपछि खेलको ७५ औं मिनेटमा फेरि पाउलिन्होले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ४-० ले अगाडि रह्यो। त्यसपछि खेलमा गोल भएन र बार्साले खेल सहजै जित्यो।

जितसँगै बार्सिलोनाले लिगमा ६ अंकको अग्रता बनाएको छ। लिग लिडर बार्सिलोनाले १६ खेलबाट ४२ अंक जोडेको छ भने दोस्रो स्थानम रहेको एथ्लेटिको मड्रिडको ३६ अंक छ। पराजित कोरुना १५ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ। लिगमा तेस्रो स्थानमा रहेको भ्यालेन्सियाको ३४ अंक भएको छ। एक खेल कम खेलेको रियल मड्रिड ३१ अंकसहित लिगको चौथो स्थानमा छ।