धादिङ – आसन्न संसदीय निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी र नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहोनीबीच प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अधिकारी नेपाली कांग्रेस धादिङका सभापति हुन् । लोहनी नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।


ADVERTISEMENT


निर्वाचनमा आकांक्षी रहेका सवै उम्मेदवार चुनावी ऐजन्डासहित घरदैलो कार्यक्रममा व्यस्त छन् । बिहीबार बेलुकीसम्म सबै वडामा पुग्ने योजना उम्मेदवारहरुको छ । चुनावी प्रतिस्पर्धामा रहेका अधिकारी र लोहनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा देखिएका हुन् ।


ADVERTISEMENT

# # #


रामनाथ अधिकारीलाई नेकपा माओवादी केन्द्र र एमालेबाट विभाजित बनेको नेकपा एकिकृत समाजवादी तथा बाबुराम भट्टराइको नेपाल समाजवादी पार्टीको साथ रहेको छ । खेम लोहनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ रहेको छ ।

संघीयता पछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका नेता खेमप्रसाद लोहनी विजयी भएका थिए । नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनलाइ ६ सय ४० मतले पराजित गर्दै लोहनी विजयी भएका थिए । त्यतिबेला लोहनीलाई नेकपा माओवादी केन्द्रको साथ रहेको थियो र एमालमा विभाजन पनि आएको थिएन ।

यस पटक पनि उम्मेदवारी दिएका सवै ब्यक्ति र दलहरुले आफूले नै विजय हासिल गर्ने बताइरहँदा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ५१ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा अधिकांश वडाहरुमा राजनीतिक दलहरु एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए ।

मुख्य राजनीतिक दलहरु नेकपा एमालेले ५१ वटै वडा, नेपाली कांग्रेसले ४३ वडा वडामा र माओवादी केन्द्रले ३४ वटा वडामा आफ्नो उम्मेदवार उठाएको थियो । त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले २४ वटा वडा, राप्रपाले ४६ वटा वडा र जनता समाजदावी पार्टीले १३ वटा वडामा आफ्नो उम्मेदवार उठाएको थियो ।

जसमध्ये नेपाली कांग्रेस २२ वटा वडामा विजयी हुँदा नेकपा माओवादी केन्द्र १० वटा वडामा विजयी भएको थियो । नेकपा एमालेले ८ वटा वडामा विजय हासिल गरेको थियो । त्यस्तै राप्रपाबाट ४, स्वतन्त्रबाट ३, जनता समाजवादीबाट १ र एकिकृत समाजवादीबाट ३ जना उम्मेदवारहरु वडामा विजयी भएका छन् ।

जितेका र हारेका सवै वडा अध्यक्षहरुले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस २९ हजार ९ सय ६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । त्यस्तै नेकपा एमालेले २५ हजार ९ सय ३८ मत पाउँदा नेकपा माओवादीले १४ हजार ३ सय ८० मत पाएको थियो । त्यस्तै, राप्रपाले ५ हजार २ सय ८७ मत र नेकपा एकीकृत समाजबादीले ३ हजार ४ सय ५६ मत पाएका छन् ।

त्यस्तै, स्वतन्त्र लगायत अन्य साना दलहरुले ४ हजार ९ सय ४४ मत पाएका छन् । स्वतन्त्रबाट विजयी भएका ३ वटै वडाहरुमा नेपाली कांग्रेसकै बागी उम्मेदवाहरु रहेकाले स्वतन्त्र उम्मेदवारहरुले पाएको आधाजसो मत नेपाली कांग्रेसकै मत हुनसक्छ ।

सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादी र जनता समाजवादीका वडा अध्यक्षले पाएको मत जोड्दा ४७ हजार ८ सय १ हुन आउँछ । त्यस्तै एमाले र राप्रपाका वडा अध्यक्षले पाएको मत जोड्दा ३१ हजार २ सय २५ मत हुन आउँछ ।

जनता समाजवादीबाट फुटेर बनेको डा।बाबुराम भट्टाराइको नेपाल समाजवादी पार्टीको पनि सत्ता गठबन्धनलाइ नै साथ रहेकोले तत्कालिन जसपा र हाल नेसपाले पाएको भोट १ हजार ६० समेत जोड्दा धादिङमा सत्ता गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी १७ हजार ६ सय ३६ मतले अघि रहेका छन् ।

तर, स्थानीय तहको निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने, गठबन्धनको प्रतिको वितृष्णा र गठबन्धन दलहरुमा भएको केही असहमतीका भोटहरुमा आफूले ल्याएर चुनाव जित्ने रणनितिमा खेमप्रसाद लोहनी रहेका छन् । लोहनी आफूले चुनाव जित्ने आधार भनेकै विगतमा आफूले गरेको काम रहेको बताउँछन् । त्यस्तै, रामनाथ अधिकारी गठबन्धनका अलावा आफ्नो इमान्दारिता, त्याग र जनताप्रतिको उत्तरदायी बन्ने प्रवृत्तिले थप सहानुभुतिको भोट प्राप्त गरेर विजयी हुने दाबी गर्छन् ।