काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम्  चितवन २ का प्रतिनिधिसभाका उम्मेदवार  रवी लामिछानेको उम्मेदवारी नागरिकताका कारण खारेजीमा परेको छ ।


ADVERTISEMENT


नेपाली भाषामा बोल्ने र नेपालमा बसोबास गर्दैमा नेपाली नागरिक भइन्छ भन्ने कुरालाई कानुनले नमान्ने हुँदा  लामिछानेसँग भएको नागरिकता अनागरिकको नागरिकताका रुपमा रहेको देखिएको छ ।


ADVERTISEMENT

# # #


लामिछानेले अमेरिकी  नागरिकता त्यागेपछि नयाँ नागरिकता लिने प्रक्रिया नै नथालेको देखिएको छ । लामिछानेले प्रयोग गरिरहेको नागरिकता नयाँ नागरिकता नभएर ५० सालमा नै जारी भएको पुरानो नागरिकता भएको खुल्न आएको छ ।

नेपाली नागरिकता ब्युँताउने कानुनी प्रक्रिया सुरु गरे पनि नागरिकता नियमावली २०६३ को प्रक्रिया पुरा नगरेकाले नेपालको कानुनले उनलाई नेपाली नागरिक भनेर चिन्दैन। किनकी उनले पुरानै नागरिकतालाई प्रयोग गरिरहेका छन् । विदेशी नागरिकता त्यागेपछि उनले नागरिकता नियमावली २०६३ अनुसार नयाँ नागरिकता लिनुपर्ने हुन्थ्यो ।

सो नियमावली अनुसार उनले खारेज भइसकेको नागरिकता ब्युँताउन सम्बन्धित सरकारी कार्यालयमा निवेदन दिएर नयाँ नागरिकता निकाल्न अपनाउनुपर्ने कानुनी प्रक्रिया पुरा गरेपछि मात्रै उनको खारेज भएको नागरिकता ब्युँतने देखिन्छ। कानुनका नजरमा रवी अनागरिक देखिएका छन् । नेपालकाे कानुनले नेपाली अनागरिकलाई  राजनीतिक दल खोल्ने, राजनीति गर्ने र उम्मेदवारी दिने कुरालाई निषेध गरेको छ ।

रवीले नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकको हैसियत खारेज गर्न निवेदन दिएको र खारेज भइसकेको अवस्था छ । उनले आफ्नो नेपाली नागरिकता ब्युँताउन अध्यागमन विभागमा निवेदन पनि दिएका छन् । तर, लामिछानेले नयाँ नागरिकता लिनका लागि सम्बन्धित जिल्ला प्रशासनमा निवेदन दिएका छैनन् ।

उनको हातमा जुन नागरिकता छ त्यो हाल प्राप्त गरेको नागरिकता नभएर अमेरिका जानुअघि ५० सालमा नै जारी भएको नागरिकता हो ।

नियमावली अनुसार रवीले अध्यागमन विभागमा निवेदन दिएपछि उनको खारेज भएको २०५० मा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बाट निकालेको नागरिकता ब्युँतिने प्रक्रिया मात्र सुरु भएको देखिन्छ । तर उनले सम्बन्धित जिप्रकाबाट नयाँ नागरिकता पाउने प्रक्रिया थालेका छैनन् ।

नागरिकता नियमावली २०६३ अनुसार खारेज भएको नागरिकता ब्युँताउन उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर नयाँ प्रमाण पत्र निकाल्नुपर्थ्यो। तर उनले निकालेको देखिएन। यसमा रवीको कमजोरी देखिएको छ । जसलाई कानुनले नगरिकका रुपमा चिन्दैन । कानुनले उनलाई  अनागरिकका रुपमा मात्रै चिन्दछ । कानुनी रुपमा अनागरिक हुनु भनेको कुनै पनि मुलुकको नागरिक नहुने अवस्था हाे ।

अमेरिकी नागरिकता त्यागेर खारेज भइसकेको नेपाली नागरिकता ब्युँताउने कानुनी प्रक्रिया नै पुरा नगरी उनले पुरानै नागरिकताको प्रमाण पत्र प्रयोग गरिरहेको उनले निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्दा पेस गरेको पुरानै नागरिकताको प्रतिलिपिले समेत पुष्टि गरेको छ ।

 अनागरिक हुने अवस्था के हो ?

नागरिकता सम्बन्धी ऐन २०६३ र नागरिकता नियमावली अनुसारको कानुनी प्रक्रिया पुरा गरेर खारेज भइसकेको नागरिकताको प्रमाण पत्र नब्युँताएसम्म सो व्यक्ति अनागरिक हुने अवस्था हुन्छ ।

नागरिकता ऐन २०६३ अनुसार कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपाली नागरिक स्वतः खारेज हुने प्रावधान छु,  त्यही ऐनमा विदेशी नागरिकता त्यागेर सोको जानकारी सम्बन्धित सरकारी कार्यालयमा गराएपछि नागरिकता ब्युँतने प्रक्रिया सुरु हुने र नियमावली अनुसार त्यसका लागि निवेदन दिने र फारम भरेर नयाँ प्रमाण पत्र जारी भएपछि मात्रै खारेज भएको नागरिकता ब्युँतने कानुनी प्रावधान छ। यसो नगरेमा अनागरिक हुने अवस्था आउँछ ।

विदेशी नागरिकता त्यागेर त्यसको जानकारी सम्बन्धित सरकारी कार्यालयमा गराएर नयाँ नागरिकता प्रमाण पत्र नलिए नागरिकता ब्युँतन सक्दैन।

खारेज भएको नागरिकता ब्युँताउन नागरिकता ऐन र नागरिकता नियमावली अनुसारको सबै प्रक्रिया पुरा गर्नै पर्छ। त्यो प्रक्रिया पुरा नगरी कसैले खारेज भइसकेको प्रमाण पत्र प्रयोग गरेर कुनै गतिविधि गर्छ भने ती सबै गतिविधि गैरकानुनी हुन्छ ।

चार वर्ष अघि नै अमेरिकी नागरिकता त्यागे पनि नयाँ नागरिकता लिएका छैनन् लामिछानेले  

रवीले अमेरिका बसाइमा अमेरिकी नागरिकको कानुनी हैसियत लिएको उनले नै स्वीकार गरिसकेको विषय हो। सोही अनुसार उनले चार वर्ष अगाडि मात्र अमेरिकी नागरिकता त्यागेको पनि उनैले स्वीकार गरिसकेका छन्।

उनले आफ्नै एक कार्यक्रममा अमेरिकी नागरिकता त्यागेको प्रमाण पेश गर्दै ढाका टोपी लगाएको नेपाली नागरिकता पाएको उल्लेख गरेका छन्। जुन नागरिकताको प्रमाणपत्र नयाँ नभएर उही २०५० सालमा निकालेको नै हो। निर्वाचन आयोगमा समेत उनको यही नागरिकता देखिएको छ ।

उनले उम्मेदवार बन्न प्रयोग गरेको नागरिकताको प्रतिलिपिले समेत उनले नयाँ नागरिकताको प्रमाण पत्र नलिई पुरानै प्रमाण पत्र प्रयोग गरिरहेको  पुष्टि हुन्छ।

उनले अदालतबाट नागरिकता सम्बन्धी समेत विवेचना भएर सेटल भइसकेको दाबी गर्दै फेसबुकमा लेखेका छन्। तर उनी विरुद्ध कुनै अदालतमा नागरिकता सम्बन्धी मुद्दा परेको खुलेन।

जिल्ला प्रशासनमा नयाँ नागरिकता लिएको प्रमाण भेटिँदैन 

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उनले नयाँ नगरिकता लिएको कुनै निवेदन वा प्रमाण देखिएको छैन ।

गृह मन्त्रालयमा रहने नागरिकता सम्बन्धी विवरणमा पनि नेपालको कुनै पनि जिल्ला प्रशासन कार्यालयबाट उनले खारेज भइसकेको नागरिकता ब्युँताएर नयाँ प्रमाण पत्र लिएको रेकर्ड फेला परेको छैन। उनको नाममा २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको  नागरिकताको कानुनी अवस्था खारेजै छ।

 चितवनको उम्मेदवारी  के हुन्छ ?

यदि लामिछानेले नागरिकता नियमावली अनुसारको प्रावधान पुरा गरेर नागरिकताको नयाँ प्रमाण पत्र लिएको प्रमाण पेस नगरे उनको उम्मेदवारी खारेज हुने देखिन्छ।

नेपालको कानुन अनुसार नेपाली नागरिकता नरहेको व्यक्ति उम्मेदवार हुन पाउँदैनन्। तर यसको छिनोफानो गर्न भने सात दिनको समय पाउनेछन् लामिछानेले।

यो बिचमा चितवन २ को निर्वाचन प्रक्रिया स्थगित नभए मतदान भइसक्नेछ। तर, यस बिचमा उनले अमेरिकी नागरिकता त्यागेपछि नागरिकता ऐन र नियमावली अनुसारको प्रावधान पुरा गरेर नयाँ प्रमाण पत्र लिएको प्रमाणित नगरेमा उनी सांसदमा निर्वाचित भए पनि खारेज भएर पून निर्वाचन हुनेछ।