बारा– निजगढ–काठमाडौं फास्ट ट्रयाक निर्माणका लागि काम अघि बढ्दै गर्दा निकुञ्जले जंगली जनावर तथा हात्तीको रुट (मार्ग) अवरोध नहुने गरी सडक निर्माण गर्न सुझाव दिएको छ।


ADVERTISEMENT


निर्माण स्थलको स्थलगत निरीक्षण गर्दै पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) हरिभद्र आर्चायले नेपाली सेनाका सहायक रथी भरतबहादुर खड्कालाई भेटी जनावरका लागि आवतजावत गर्न हाइब्रिज वे अथवा अन्डर रोड निर्माण गर्न सकिने बताएका छन्। वन्यजन्तुलाई अवरोध नहुनेगरी फास्ट ट्रयाक बनाउन सुझाव दिएका हुन्।


ADVERTISEMENT

# # #


निकुञ्जका रैथाने हात्तीले वर्षौँदेखि प्रयोग गर्दै आएको रुटमा फास्ट ट्रयाक बन्न लागेपछि निकुञ्जले चासो देखाएको हो। हात्तीको रुटमा पर्ने बकैया नागमणि सामुदायिक वन समूहको वन क्षेत्रमा पर्नेगरी करिब एक किलोमिटर सडक हाइब्रिज वे बनाउनुपर्ने भएको समूहका अध्यक्ष रविराज दंगालले जानकारी दिए।

हाइब्रिज वे निर्माणपछि सडकको मुनिबाट जनावर सहज रुपमा आवतजावत गर्न सक्नेछन्। हात्तीले निजगढदेखि आधाभारसम्मको पुरानो रुट प्रयोग गर्दै आएकाले अवरोध नहोस् भनेर हाइब्रिज बनाउन आवश्यक रहेको अध्यक्ष दंगालको भनाइ छ।