काठमाडौँ– युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।


ADVERTISEMENT


आज अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बधाई तथा धन्यवाद ज्ञापनका लागि पुगेका दुवै युवा संगठनको संयुक्त टोलीले राष्ट्रिय आवश्यकता र जनचाहनाका आधारमा निर्माण भएको वाम गठबन्धनले करिबर करिब दुई तिहाइ स्थानमा विजय हासिल गरेकाले त्यसलाई सार्थक निष्कर्षमा पुर्‍याउनसमेत पार्टी एकतालाई टुंगो लगाउनुपर्नेमा जोड दिएको हो ।


ADVERTISEMENT

# # #


एकतामा नै बल हुन्छ भन्ने मान्यताका आधारमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनले निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको भन्दै युवा संगठनले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नेतृत्व लिनसमेत अध्यक्ष दाहाललाई आग्रह गरेका हुन् ।

नेपाली जनताले जनमतबाट वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै उनीहरुले एकताका लागि सार्थक संवाद गर्न र त्यसलाई निष्कर्षमा पुर्याउन अनुरोध गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए। युवा संगठनको बधाई ग्रहण गर्दै अध्यक्ष दाहालले वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले त्यसलाई संस्थागत गर्ने र त्यसको प्रयास भइरहेको धारणा राखे।

उनले भने, ‘वाम गठबन्धनका उम्मेदवारलाई जनताले दुई तिहाइ बहुमतको नजिक पुर्याएका छन् । गठबन्धनका लागि एमाले अध्यक्ष केपी ओली र मैले गरेको सार्थक प्रयास अनुमोदित भएको छ । हामी त्यसलाई शीघ्र निष्कर्षमा पुर्‍याउँछौँ ।’

जनताले दिएको अभिमत ऐतिहासिकरूपमा जनताको सम्पत्ति बनिसकेको चर्चा गर्दै उनले एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सबैको साथ र सहयोग जरुरी रहेको बताए। जनताले शान्ति, राजनीतिक स्थिरता, आर्थिक समृद्धिका लागि वाम गठबन्धनलाई मत दिएकाले जनताको अपेक्षालाई पूरा गरेर जान आफूहरूले कुनै पनि कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

देशलाई समृद्ध र सबल बनाएर युवा नेतृत्वलाई देशको जिम्मा दिने मनसायमा आफूहरू रहेको भन्दै अध्यक्ष दाहालले एकाध वर्षमा नेपालको मुहार फेरिने विश्वास व्यक्त गरे। अध्यक्ष दाहालले भने, ‘मुलुकलाई समृद्ध बनाएर समाजवादी नेपाल युवाको जिम्मा लगाउने सोचमा हामी छौँ । त्यसका लागि युवाले एकपटक पहल गर्न जरुरी छ।’

युवा संघ नेपालका अध्यक्ष राजीव पहाडीले जनताको माग र भावनालाई सम्बोधन गर्दै सार्थक एकताको पहल गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए।

वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन युवा संगठनले खेलेको भूमिकालाई राष्ट्र निर्माणमा प्रयोग गर्न आफूहरु सधैँ इच्छुक रहेको वाइसिएलका अध्यक्ष सापकोटाको भनाइ थियो ।

यस्तै, आजै विभिन्न बुद्धिजीवी तथा पेशाकर्मीले समेत वाम गठबन्धनलाई विजयी गराएको र जनताको अपेक्षा पूरा गरेको भन्दै अध्यक्ष दाहालको सम्मान गरेका थिए।