चितवन– चितवनमा एक करोड खर्चिएर निर्माण गरिएको तौलपुल बिग्रिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–१ आँपटारीमा निर्माण गरिएको तौलपुल तीन महिनादेखि बिग्रिएको हो ।


ADVERTISEMENT


तौलपुल निर्माण भएको दुई वर्ष नपुग्दै दुई पटक बिग्रिएको छ । गत भदौ ७ गते चट्याङले तौलपुल बिग्रिएको थियो । बिग्रेको तीन महिना हुँदापनि तौलपुल मर्मत गरिएको छैन ।


ADVERTISEMENT

# # #


छ महिनाअघि तौलपुलमा भार मापन गर्ने क्रममा मालवाहक गाडी अचानक बिग्रिएर पुलमा ठोक्किन पुग्दा तौलपुलको लोड सेल भाँचिएको थियो । मर्मत गरेर केही समय सञ्चालनमा आएको तौलपुल पुनःचट्याङका कारण बिग्रिएको यातायात व्यवस्था विभागका इञ्जिनियर राहुल सङ्गियारले जानकारी दिए । उनले विभागबाट स्थलगत निरीक्षण गरेर क्षतिको विवरण सङ्कलन गरेको भन्दै छिट्टै मर्मत गरिने बताए ।

ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर तौलपुल सञ्चालन गर्दै आएका छन् । तोकिएकोभन्दा बढी भार बोक्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराउँछ । विसं २०७७ माघ १८ गते स्थापना भएको तौलपुलमा नारायणगढ–मुग्लिन सडकखण्ड भएर काठमाडौँ, पोखरा जाने मालवाहक गाडीको तौल मापन गरिदै आएको थियो । विभागले एक करोड २१ लाख ७३ हजार रूपैयाँमा सो पुल बनाएको हो ।

हालसम्म भार मापनका आधारमा बढी भार बोक्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यो पुल बन्द भएपछि ट्राफिक प्रहरीले रात्रिकालीन बसमा दुई चालक भए नभएको जाँच गर्ने गरेको प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताए । बिहान ५ बजेदेखि सवारीसाधन जाँच गर्ने गरिन्छ ।

भार क्षमताभन्दा बढी मालसामान (ओभरलोड) बोक्ने गाडीका कारण नेपालमा नयाँ कालोपत्र भएका सडकसमेत छिट्टै जीर्ण हुने गरेका छन् । सडक जीर्ण बन्दा दुर्घटनाको दर बढेको छ । यसलाई नै लक्षित गरेर तौलपुल स्थापना गरिएको हो । तौलपुलले ८० टनसम्मको गाडीको भार मापन गर्न सक्छ । सवारीको भार क्षमता नियन्त्रण गर्न सरकारले मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका–२०७४ जारी गरेको छ । रासस