पर्वत– प्रायस्गरी मगर समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । कतिपय लाहुरे हुनका लागि बेलायती सेना, भारतीय सेना र नसके नेपाली सेनामा भर्ना हुने कुरालाई आफ्नो सबैभन्दा ठूलो सपना ठान्छन् ।


ADVERTISEMENT


न्यबतभर्ती नहुने युवा युरोप, हङकङलाई दोस्रो गन्तव्य बनाउँछन् भने नसके खाडी र मलेसियामा प्रशस्त पैसा कमाइ हुने आशामा विदेशिएको पनि देखिन्छ । तर, पर्वतको सालिजा गाउँका दुई युवा सबै कुरा त्यागेर गाउँमै ठूलो लगानीमा बाख्रापालन व्यवसायमा लागेका छन् ।


ADVERTISEMENT

# # #


यी युवा १५ लाख रुपैयाँ लगानी गरेर बाख्रापालन व्यवसायमा लागेका हुन् । सालिजा–२ का बलबहादुर पुन र जितमन पुनले गाउँमै बाख्रापालन व्यावसाय सुरु गरेका छन् । गत वर्षदेखि व्यवसायमा हात हालेका उनीहरूले ५ सय बाख्रा पाल्ने योजना बनाएका छन् । अहिले उनीहरूको फारममा १ सय २० वटा पुगेका छन् । २ वर्षको अवधिमा ५ सय बाख्रा पुर्‍याउने योजना रहेको फारम सञ्चालक बलबहादुर पुनले बताए ।

गाउँमा १र२ वटा मात्रै बाख्रा पाल्ने, तर व्यावसायिक बन्न नसकेकाले व्यावसायिक रूपमा बाख्रापालनबाट आम्दानी हुने देखेपछि बाख्रापालनमा लागेको पुन बताउँछन् । १ वर्षअघि ४० वटा बाख्राबाट उनीहरूले व्यवसाय सुरु गरेका हुन् । अहिले बाख्रा बिक्रीभन्दा बथान बढाउने काममा लागिपरेको उनीहरू बताउँछन् । १ वर्षकै अवधिमा १ सय २० वटा बाख्रा पुगेको अर्का युवा जितमन पुनले बताए ।

बाख्रापालनका लागि उनीहरूले सुरुमा १५ लाख रुपैयाँ लगानी गरेका छन् । बाख्रा हेर्नका लागि ४ जनालाई रोजगारी पनि दिएका छन् । खरी जातका बाख्रा पाल्दै आएका उनीहरूले चरन लागि सामुदायिक वनलाई मासिक १० हजार भाडा तिरेर बाख्रा चराउँदै आएका छन् ।

बाख्रापालनसँगै उनीहरूले आलुखेती पनि थालेका छन् । बाख्राको जुत्तो प्रयोग गर्नका लागि लेकफाँट गाविसको डाँडाकटेरीमा जग्गा भाडामा लिएर आलुखेती गर्ने योजना रहेको जितमनले बताए । लेकफाँटको लोप्रे आलुका लागि प्रसिद्ध ठाउँ हो । प्राविधिक सहयोग पनि मिलनचोकमा रहेको कृषि तथा पशु सेवा कार्यालयबाट लिने गरेको उनीहरू बताउँछन् । विकट गाउँमा ठूलो लगानी गरेर सञ्चालन गरेको यो व्यवसाय जिल्लाकै नमुना व्यवसायका रूपमा हेरिएको छ ।

अन्य क्षेत्रका युवा पछिल्लो समयमा विदेशबाट फर्केर कृषि तथा पशुपालन व्यवसायमा लागेपछि गाउँकै युवाले आफ्नै लगानी गरेर सञ्चालन गरेको व्यावसायिक फारम भएकाले राज्यले पनि उनीहरूलाई विशेष प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ ।