काठमाडौं-ढुंगाखानीमा पुरिएर घाइते बनेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।


ADVERTISEMENT


रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय जीवन श्रेष्ठको जिल्ला अस्पताल खोटाङमा ल्याएर उपचार गर्ने क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


सोल्मास्थित मध्यपहाडी लोकमार्गमा पर्ने सडकमाथि रहेको खानीबाट ढुंगा झिक्ने क्रममा श्रेष्ठलाई शुक्रबार दिउँसो खानीमाथिबाट झरेको ढुंगाले पुरेको स्थानीयले बताएका छन् ।

आफ्नै ढुंगाखानीमा पुरिएका श्रेष्ठलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको र उपचारको क्रममा मृत्यु भएको वडा सदस्य अमर श्रेष्ठले बताए ।

काका दिलबहादुर श्रेष्ठसँग ढुंगा झिक्दै गरेका जीवनलाई करिब तीन बजेको समयमा माथिबाट झरेको ढुंगाले पुरेको श्रेष्ठले बताए ।

मृतक श्रेष्ठको शव परीक्षणका लागि अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

श्रेष्ठले आफ्नो खानीबाट निकालेको ढुंगा दिक्तेलस्थित विभिन्न ठाउँमा ट्याक्टरमार्फत लगेर बिक्री गर्दै आएका थिए । जीवनको मृत्युपछि उनको नाबालिका छोरी र श्रीमतीको बिचल्ली भएको अम्बर श्रेष्ठले बताए ।