काठमाडौं-पूर्वी नेपालमा सुन्तला उत्पादनमा भारी गिरावट आएपछि सिजनको सुरुआतमै मूल्य आकासिएको छ । गत वर्षको तुलनामा यस पटक सिजनको सुरुआतमै सुन्तलाको मूल्य आकासिएको हो । सुन्तला उत्पादनमा ह्रास आएपछि बिचौलियाले सुन्तलाको मूल्य आफूखुसी बढाउँदा उपभोक्ता महंगो शुल्क तिरेर सुन्तला किन्न बाध्य भएका छन् ।


ADVERTISEMENT


गतसाल सिजनको सुरुआतमा सुन्तलाको मूल्य प्रतिकेजी ७० रुपैयाँ थियो । यस पटक सुन्तलाको थोकमूल्य मूल्य नै एक सय २० रुपैयाँ पुगेको कृषिउपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । धरानमा एक नम्बर प्रदेशका धनकुटा, भोजपुर, तेह्र्रथुम, संखुवासभा, खोटाङ, पाँचथरबाट किसानले कृषिउपज बजारमा सुन्तला ल्याएर बिक्री गर्दै आएका छन् । सुन्तलाको खुद्रा मूल्य प्रतिकेजी एक सय ६० भन्दा बढी पुगेको छ ।


ADVERTISEMENT

# # #


गत वर्ष धरानमा किसानले सात हजार नौ सय २५ टन सुन्तला बिक्री गर्दा ७१ करोड रुपैयाँको कारोबार भएको थियो । तर, यो वर्ष सुन्तलाको कारोबारमा पनि गिरावट आउने लक्षण देखिएको कृषिउपज बजारका अध्यक्ष काजी गिरीले बताए । उनले भने, ‘प्रदेश १ को धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, पाँचथरलगायत जिल्लामा यो वर्ष सुन्तलाको उत्पादन घटेको छ । बजारमा माग बढी भए पनि उत्पादन कम भएकाले मूल्य बढेको हो ।

सुन्तलाको मूल्यमा भारी वृद्धि भए पनि सुन्तला उत्पादन गर्ने किसानले भने बजार भाउ अनुसारको रकम पाउन नसकेको किसानको गुनासो छ । सुन्तला खरिद गर्न पहाडी जिल्ला जाने बिचौलियाले किसानबाट कम मूल्यमा बोटमै खरिद गर्ने र बजारमा ल्याएर महंगो मूल्यमा बिक्री गर्ने गरेका कारण सुन्तलाको मूल्यमा भारी वृद्धि भएको धरानका रबिन अधिकारीले बताए ।