गण्डकी – पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ ।


ADVERTISEMENT


विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको उपस्थिति थियो ।


ADVERTISEMENT

# # #


तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

समारोहमा प्रधानमन्त्री दाहालले पोखरा विमानस्थलले गण्डकी प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याउने बताए । विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय सहरसँग जोड्ने उनको भनाइ छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थल सञ्चालनमा सरकारले सघाउने बताए । नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायत विमानस्थलसँग जोड्नुपर्ने उनले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा विमानस्थल गण्डकी प्रदेशको समृद्धि र विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि सङ्घ सरकारको उनले ध्यानाकर्षण गराए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएको बताउँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताए। विमानस्थल सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक भएकामा जोड दिँदै उनले विमानस्थल सञ्चालनमा समस्याका रुपमा रहेका रिठेपानी डाँडा कटान र ल्यान्डफिड साइडको व्यवस्थापन गरिएको बताए।

विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिग्रहण गरे पनि लामो समयसम्म काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले यसको निर्माण थाल्नुपर्ने मागसहित लामो समयसम्म सङ्घर्ष गरेका थिए ।

पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको अभियानकर्मी विश्वशङ्कर पालिखे बताउँछन् ।

विमानस्थल निर्माणसँगै पोखरा अन्तर्राष्ट्रिय सहरका रुपमा स्थापित भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ यो आगामी दिनमा व्यस्त विमानस्थलका रुपमा चल्नुपर्ने बताउँछन् ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ साल वैशाख १ गते शिलान्यास गरेका थिए। निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो ।

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनबाटै विमानस्थल सञ्चालन आउनुले यसले पोखराको पर्यटनमा विशेष अर्थ राख्ने पर्यटन व्यवसायीहरू बताउँछन् । विमानस्थल सञ्चालनसँगै यससँग जोडिएका पूर्वाधारको विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए ।

“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय हो”, उनले भने, “यसको अधिकतम उपयोग हुने किसिमको वातावरण तयार गरिनु आवश्यक छ ।”

तथ्याङ्कअनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् ।

उद्घाटनमा हजारौँको सहभागिता

पाँच दशकदेखिको सपना पूरा भएको भन्दै आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा हजारौँ पोखरेली सहभागी भएका छन् । पोखरा महानगरपालिकाको आयोजनामा पोखराको अमरसिंह चौरबाट विमानस्थलसम्म बाजागाजासहित विभिन्न जातजातिको वेशभूषामा सर्वसाधारणहरू सहभागी भएका थिए ।

विमानस्थल पोखरेलीको गौरव भएको भन्दै पोखरा महानगरपालिकाले आज उद्घाटन समारोहलाई भव्य बनाउने लक्ष्यका साथ ३३ वटै वडा र मातहतका विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गरेको थियो । उद्घाटन समारोहमा विमानस्थलको परिकल्पनाकार शङ्करराज पाठकलगायत विमानस्थल निर्माणमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई प्रधानमन्त्रीले सम्मान गरे । रासस