काठमाडौं-अभिनेत्री एवं निर्मात्री रेखा थापा उमेरले ३५ वर्ष ५ महिना पार गरिसकेकी छन् । वि सं २०३९ भदौ ५ मा जन्मेकी उनी यति बेला ३६ औं वर्षमा टेक्दै छिन् । उनै रेखाले शुक्रबार नेपालगन्जको एक सार्वजनिक कार्यक्रममा आफ्नो विवाह गर्ने बेला भइनसकेको दाबी गरिन् ।


ADVERTISEMENT


कार्यक्रम थियो छोरीका निम्ति स्वर्णिम नेपाल अभियान । ‘आफ्नै संघर्षले फिल्म क्षेत्रमा सफल भएको छु, तर मेरो विवाह गर्ने बेला भइसकेको छैन,’ बालविवाह अन्त्यका लागि संकल्प अभियानमा प्रवचन दिँदै अभिनेत्री थापाले भनिन्, ‘विवाहबारे मेरो अहिले केही सोचेको छैन ।’


ADVERTISEMENT

# # #


उनको प्रवचन सुन्न विभिन्न विद्यालयका बालबालिका, अभिभावक, अधिकारवादी र फयानहरू नेपालगन्जस्थित सडक डिभिजन कार्यालयको फिल्डमा पुगेका थिए । रेखाले विवाह गर्ने बेला नभएको दाबी गरिरहँदा उनका फयानहरू छविराज ओझासँगको सम्बन्धविच्छेदबारे मुखामुख गरिरहेका थिए ।

उनले हरेक व्यक्ति ‘आफैंमा हिरो’ भएको भन्दै बालबालिकालाई ऊर्जा थपिरहेकी थिइन् । ‘कुनै पनि काम असम्भव छैन, लाग्न सक्नुपर्छ,’ उनले ऊर्जा थप्दै भनिन्, ‘असजिलो के छ ? त्यसलाई छान्नुस् । त्याग गर्नुस् । मिहिनेतले अवश्य सफल भइन्छ ।’ रेखाले आफू सक्षम नहुँदासम्म विवाह नगर्न बालबालिकालाई सुझाव पनि दिइन् । उनले आफूलाई हेर्न र सुन्न आएका बालबालिकाहरूलाई पढाइलेखाइपछि सक्षम भएर मात्रै विवाह गर्ने संकल्प गराइन् ।

यसपछि उनले फिल्म क्षेत्रमा गरेको संघर्षका कथाहरू पनि सुनाइन् । आफू काली हुँदा पनि फिल्म क्षेत्रमा गरेको संघर्षले यो स्थानमा पुगेको बराम्बार दोहोर्‍याइन् । ‘म सफल हुन फिल्म क्षेत्रमा कम्ती संघर्ष गर्नुपरेन । तर संघर्षले यो स्थानमा छु,’ उनले भनिन्, ‘हरेक व्यक्तिमा सम्भावना लुकेको हुन्छ, संघर्ष गर्नुस्, एक दिन अवश्य सफल भइन्छ ।’

उनले मान्छेभित्रै हिरो, डाक्टर, इन्जिनियर, पाइलट लुकेर बसेकाले त्यसलाई आफैंले खोज्नुपर्ने सुझाव दिइन् । कार्यक्रममा सामाजिक अभियन्ता नरबहादुर कार्कीले हरेक व्यक्तिको जीवन मूल्यवान् रहेको भन्दै समयलाई चिन्न सुझाव दिए ।