काठमाडौं-नेपालमा एक हजारदेखि तेह्रसय मिटर उचाइमा गुणस्तरको सुन्तला उत्पादन हुने एक अध्ययनले देखाएको छ । चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको पहिलो पीएचडी विद्यार्थी प्रदीपराज रोकायाले लमजुङ जिल्लाका विभिन्न स्थानमा गरेको शोध र अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको विश्वविद्यालयले जनाएको छ ।


ADVERTISEMENT


रोकायाले लमजुङको सुन्तला उत्पादन हुने क्षेत्र चिप्लेटी गैंरी, नरुवाल, काफलस्वाँरामा यो अध्ययन गरेका हुन् । उनले सुन्तला उत्पादनको अवस्था, क्षेत्र, सुन्तलामा हुने गुलियोपना र अमिलोपना एवम् सुरक्षित भण्डारणका विषयमा अनुसन्धान गरेका थिए । रोकायले सात सयदेखि चौध सय मिटरको उचाइलाई तीन सय मिटरको फरकका विभाजन गरी अनुसन्धान गर्दा यस्तो तथ्य पत्ता लागेको हो ।


ADVERTISEMENT

# # #


एक हजारदेखि तेह्रसय मिटरसम्मको उचाइमा सुन्तलामा गुणस्तर, बढी तौल, स्वस्थ रहेको देखिएको रोकायाले बताए । एक हजार मिटरभन्दा तल गतिलो सुन्तला उत्पादन नहुने र १३ सय मिटरभन्दा बढीको उचाइमा अमिलो हुने र पाक्न समय धेरै लाग्ने अनुसन्धानको निष्कर्ष छ । कात्तिक २४ गतेदेखि मंसिर ४ गते वा सो वरपरीको समयमा सुन्तला परिपक्व हुने र सोही समयमा टिप्दा गुणस्तर पनि कायम हुने अनुसन्धानबाट पत्ता लागेको रोकाया बताउँछन् ।

भौगोलिक उचाइको रेञ्ज र टिप्ने समय मिलेको नेपालको सुन्तला अन्तर्राष्ट्रिय गुणस्तरको भन्दा राम्रो पाइएको छ । अन्तर्राष्ट्रिय गुणस्तरको सुन्तलामा गुलियो र अमिलोपनको अनुपात ६.५ लाई मान्ने गरिएको छ । तर, नेपालको सुन्तलामा ७.८ हुने गरेको छ ।

विगत १० वर्षदेखि नेपालमा सुन्तलाको उत्पादन घट्दो क्रममा रहेको र गुणस्तरसमेत कम हुँदै गएको सन्दर्भमा गरिएको अनुसन्धानले सुन्तलाको बोटको म्यानेजमेन्टको खाँचो देखिएको छ । रोकायाका अनुसार फूल फूल्ने समय, टिप्ने समय, टिप्ने तरिका नमिल्दा र माटोमा न्यूट्रिसन र हर्मोनको कमी हुँदा उत्पादन घट्दै गएको हो ।

‘बैशाख महिना सुन्तलाको फूल फूल्ने समय हो, सेप्टेम्बर फलको वृद्धि हुने समय हो, यो समयमा बढी न्यूट्रिसन सुन्तलालाई आवश्यक पर्दछ, हामी हरेक वर्ष फल मात्रै हेर्दछौं माटोको अवस्था हेर्दैनौं,’ अनुसन्धानकर्ता रोकायाले भने, ‘गाईभैंसीलाई समयमा घाँस, कुँडो, पानी नखुवाए दूध दिन्छ र ?’

रोकायाले विरुवाका लागि आवश्यक न्यूट्रिसनका लागि म्यानेजमेन्ट पक्ष महत्वपूर्ण हुने बताए । सुन्तलामा रोगले बोट मर्ने र सुक्ने देखिएको बताउँदै उनले कुनै एक कारणबाट मात्रै यो नभएको बताए । माटोमा सुक्ष्म खाद्य तत्वको कमि, हर्मोनको प्रयोग नहुनु, समयमा नै गोडमेल र कटनीछटनी नहुनु, सिँचाइको उचित समयमा व्यवस्थापन नहुनुको कारण सुन्तलामा रोग लाग्ने र ह्रास आउने रोकायको तर्क छ ।