– गण्डकी, वासुदेव पौडेल


ADVERTISEMENT


“यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुर्क्यो तन
जस्को अन्न र पानी खाई दिनहुँ जो पूर्ण भो जीवन
त्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिर
यिन्लाई यसरी चटक्क भुलदा लाग्दैन कि क्यै पीर ?”


ADVERTISEMENT

# # #


(कुन्तीदेवी भट्टराई)को ‘धरतीको पुकार’ नामक कवितामा भनेजस्तै पछिल्लो समयमा रोजगारीको खोजीमा युवा बाहिरिने क्रमसँगै खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन् । पछिल्लो समयमा सिँचाइसँगै कृषिमा भित्रिएका आधुनिक प्रविधिले उत्पादन बढ्दै गए पनि जनशक्तिको अभावमा जग्गा बाँझै बसेका छन् भने कतिपय उब्जाउयोग्य जमिन पनि प्लटिङ गर्दै बस्तीमा परिणत हुँदै आएको छ ।

कृषिप्रति अनिच्छा बढिरहेको अवस्थामा पोखरा महानगरपालिका(३२ को गगनगौँडा क्षेत्रको फाँट भने यतिखेर तोरीबारीले पहेँलै बनाएको छ । तोरीसँगै झपक्क फुलेको फापर र लहलहाएको आलुबारी निकै मनमोहक देखिन्छ छ । यहाँ कृषिप्रति आकर्षण बढीरहेपनि बढ्दो बस्ती विकासका कारण बर्सेनि खेतीयोग्य जमिन घडेरी बन्दै बस्तीमा परिणत हुन थालेकोे स्थानीयवासी एवं स्कुल टोल विकास संस्थाका अध्यक्ष बलराम केसी बताउँछन् ।

“फाँटमा कृषि उत्पादन बर्सेनि बढ्दै गएको छ नै त्योसँगै बढ्दो बस्ती विकासका कारण बर्सेनि घरहरू पनि थपिँदै गएका छन्”, उनी भन्छन्, “पछिल्ला केही वर्षदेखि यो फाँटमा १२ महिना खेती हुँदै आएको छ ।” गगनगौँडा फाँटमा वर्षायाममा रोपिएको धान काटेसँगै आलु, फापर तथा तोरी लगाउने र आलु तथा तोरी भित्र्याएसँगै मकै लगाउने गरिएको छ ।

उत्पादन पनि अपेक्षित रुपमा राम्रो हुँदै जाँदा बर्सेनि कृषिप्रतिको आकर्षण बढिरहेको अध्यक्ष केसी उल्लेख गर्छन् । कृषि उत्पादनप्रतिको आकर्षणलाई दृष्टिगत गरी राज्यले पनि यस क्षेत्रमा चासो दिनुपर्ने उनको भनाइ छ । गगनगौँडा फाँटमा विसं २०४५ अघिसम्म वर्षे धान मात्रै लगाउने गरिन्थ्यो । स्थानीयवासी एवम् बेगनास सिँचाइ उपभोक्ता समूह विटुका पूर्वअध्यक्ष घनश्याम खनालका अनुसार विगतमा एक बालीमात्रै उत्पादन हुने फाँटमा बेगनास सिँचाइ आयोजनाको नहर आएसँगै हिउँदमा पनि खेती गर्न थालिएको हो । बस्ती विकासका दृष्टिले गगनगाँैडा पुरानै ठाउँ भए पनि बीचको समयमा औलोलगायत समस्याका कारण यहाँबाट अन्य स्थानमा बसाइँ सरेको पाइन्छ ।

औँलो उन्मुलनसँगै सिँचाइ उपलब्ध भएपछि विस्तारै यस क्षेत्रमा बसोबासको क्रम बढेको बताउँदै उनी प्राचीन बस्तीका रुपमा रहेका पुरानो गाउँ, ढकाल खोरलगायत स्थानमा अहिले भने बसोबास नरहेको उल्लेख गर्छन् । विशेष गरी गगनगौँडाको उपल्लो भागमा भरतपोखरी, निर्मलपोखरी, देउराली थुम्कीलगायत स्थानबाट धेरैजसो मानिस बसाइँ सरेर आएका छन् भने तल्लो भागमा सेराबेँसी, थप्रेक, नयाँगाउँ, चोयाबिसौना, दगामलगायत स्थानबाट बसाइँ सरेर आएका छन् ।

गगनगौँडाको बस्ती विकासमा बेगनास तालको पानी महत्वपूर्ण बनेको स्थानीयवासी बताउँछन् । लेखनाथ क्षेत्रको सबैभन्दा ठूलो यस तालबाट आएको पानीका कारण गगनगौँडासँगै खुदी, राजाचौतारा, मालमूललगायत स्थानमा सिँचाइ उपलब्ध भएको छ । कूल तीन दशमलव ७३ वर्ग किलोमिटर (३७३ हेक्टर) जमिन रहेको यस तालमा विसं २०४४ मा बाँध बाधेपछि दुई सय २० हेक्टरबाट तीन सय ७३ हेक्टर क्षेत्रफल ओगटेको थियो ।

यही बाँधबाट निकालिएको नहरले गगनगौँडासँगै लेखनाथको खुदी, मालमूललगायत फाँटमा भएको सिँचाइले यस क्षेत्रको बस्ती विकासमा महत्वपूर्ण बनेको स्थानीयवासीको तर्क छ । सिँचाइको उपलब्धतासँगै यस क्षेत्रमा बर्सेनि कृषिप्रति आकर्षण बढ्दै गएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउँछन् ।

गगनगौँडालगायत आसपासमा हिउँदे तोरी, आलु, फापरआदिको राम्रो उत्पादन हुने गरेको उनको भनाइ छ । कृषिप्रतिको बढ्दो आकर्षणसँगै यस क्षेत्रमा कृषिको विकासलाई महानगरले प्राथमिकतामा राख्नका लागि पोखरा महानगरपालिका–३२ कै राजाचौतारा क्षेत्रमा केही दिनअघि मात्रै माटो परीक्षण गरिएको महाशाखा प्रमुख कडरिया बताउनुँछन् ।

किसानबाट संस्थागतरुपमा प्रयास भएका अवस्थामा महानगरबाट सहयोग गर्न सहज हुने उल्लेख गर्दै कडरिया त्यसका लागि उनीहरूको जागरुकताको आवश्यकता औँल्याउँछन् । कृषियोग्य जमिनमा उत्पादन बढ्दो क्रममा रहेपनि बढ्दो बस्ती विकास भने चुनौतीका रुपमा रहेको उनको भनाइ छ । रासस