काठमाडौँ – नाबालिका बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएको क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको आदेश पत्र प्राप्त गरेसँगै उनलाई केन्द्रीय कारागारबाट बाहिर निकालेर भर्खरै जिल्ला अदालत काठमाडौँ लगिएको हो ।


ADVERTISEMENT


सन्दीपले २० लाख धरौटी बुझाइसकेका छन् । जिल्ला अदालत काठमाडौँमा कागजी प्रक्रिया पूरा गरेर उनी केहीबेरमै रिहा हुनेछन् ।


ADVERTISEMENT

# # #


बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । अदालतले सन्दीप भाग्ने, मुद्दाका प्रमाण नष्ट गर्ने वा पीडितलाई हानी पुर्याउने अवस्था नभएकाले थुनामा राखिराख्नुको उचित कारण नदेखिएको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतले सन्दीपलाई विदेश जान, प्रहरीको अनुमतिबिना काठमाडौँ उपत्यका छोड्न, पीडितसँग आफू वा आफ्ना मान्छेको माध्यमबाट सम्पर्क राख्न र मुद्दाका बारेमा सार्वजनिक टिप्पणी गर्न रोक लगाएको छ । शर्तको उल्लंघन गरे पुनः थुनामा पठाउने अदालतको आदेशमा उल्लेख छ ।

जिल्ला अदालत काठमाडौँले गत कार्तिक १८ गते मुद्दाको अन्तिम सुनुवाई नहुँदासम्म सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, सन्दीप पक्षका वकिलले जिल्ला अदालत काठमाडौँको उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सोही निवेदनमा सुनुवाई गर्दै उच्च अदालतले बिहीबार आदेश दिएको थियो । सन्दीपका पक्षले पीडित भनिएकी किशोरी नाबालिका नरहेको दाबी गर्दै आएका छन् ।

गत भदौ ५ गते सन्दीपलाई आफूलाई काठमाडौँको एक होटेलमा लगेर बलात्कार गरेको भन्दै नुवाकोटकी एक किशोलीले जाहेरी दिएकी थिइन् । भदौ ६ गते केन्यासँगको क्रिकेट सिरिजका लागि नेपाल छोडेका सन्दीप उक्त जाहेरीपछि असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीपले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । उनका वकिलले पीडित भनिएका किशोरी नाबालिका नरहेको दाबी गर्दै आएका छन् । पीडितको उमेर यकिन गर्न काठमाडौँ जिल्ला अदालतले नुवाकोटबाट किशोरीको वास्तविक उमेर खुल्ने जन्मदर्ताको प्रमाणपत्र झिकाएको थियो।

यस्तै पीडित भनिएकी किशोरी जन्मिएको नारायणी अस्पतालबाट प्रमाणपत्र झिकाउन आदेश दिएको थियो । जस अनुसार युवती नाबालिका नरहेको प्रमाण जुटेको सन्दीपका वकिलहरुको दाबी छ ।