काठमाडौँ – नाबालिका बलात्कार अभियोग लागेका सन्दीप लामिछानेले मनोविद्सँगको परामर्शसँग जारी राख्ने भएका छन् । र्पुपक्षका लागि थुना परेर ३ महिनापछि आजै रिहा भएका सन्दीप अझैँ पनि मानसिक रुपमा कमजोर भएकाले मनोपरामर्श जारी रहने उनका निजी कानुनव्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बाए ।


ADVERTISEMENT


उनले भने, ‘शारीरिक रुपमा उहाँ राम्रै हुनुहुन्छ । तर, मानसिक रुपमा उहाँ अझैँ पनि परामर्शमै हुनुहुन्छ । उहाँ डिप्रेशनको स्थितिमा हुनुहुन्छ । त्यसकारण मनोपरामर्श जारी रहनेछ ।’ बिहीबार उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै सन्दीप ३ महिना ९ दिन जेल बसेर आज थुनामुक्त भएका थिए ।


ADVERTISEMENT

# # #


अदालतले उनलाई विदेश जान नपाउने, काठमडौँ छाड्नुपरे जिल्ला प्रहरी कार्यालयको अनुमति लिनुपर्ने, पीडितसँग कुनै किसिमको सम्पर्क राख्न नपाउने, मुद्दाका विषयमा सार्वजनिक रुपमा बोल्न नपाउने शर्त राखेर थुनामुक्त गर्न आदेश दिएको हो । साथै उक्त शर्त पालना नगरे पुनः थुनामा पठाउनेगरी अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँले गत कार्तिक १८ गते मुद्दाको अन्तिम सुनुवाई नहुँदासम्म सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, सन्दीप पक्षका वकिलले जिल्ला अदालत काठमाडौँको उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सोही निवेदनमा सुनुवाई गर्दै उच्च अदालतले बिहीबार आदेश दिएको थियो । सन्दीपका पक्षले पीडित भनिएकी किशोरी नाबालिका नरहेको दाबी गर्दै आएका छन् ।

गत भदौ ५ गते सन्दीपलाई आफूलाई काठमाडौँको एक होटेलमा लगेर बलात्कार गरेको भन्दै नुवाकोटकी एक किशोलीले जाहेरी दिएकी थिइन् । भदौ ६ गते केन्यासँगको क्रिकेट सिरिजका लागि नेपाल छोडेका सन्दीप उक्त जाहेरीपछि असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीपले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । उनका वकिलले पीडित भनिएका किशोरी नाबालिका नरहेको दाबी गर्दै आएका छन् । पीडितको उमेर यकिन गर्न काठमाडौँ जिल्ला अदालतले नुवाकोटबाट किशोरीको वास्तविक उमेर खुल्ने जन्मदर्ताको प्रमाणपत्र झिकाएको थियो।

यस्तै पीडित भनिएकी किशोरी जन्मिएको नारायणी अस्पतालबाट प्रमाणपत्र झिकाउन आदेश दिएको थियो । जस अनुसार युवती नाबालिका नरहेको प्रमाण जुटेको सन्दीपका वकिलहरुको दाबी छ ।