काठमाडौँ– माघे सङ्क्रान्ति, ‘मकर सङ्क्रान्ति’ तथा ‘माघी’ नामले चिनिने नेपालको एक प्रमुख चाड हो । माघ महिनाको पहिलो दिन पर्ने यो पर्व हाल सबै समूदाय मनाउने भएतापनि यसलाई विशेषगरी मगर तथा थारु समुदायले उल्लासमय रुपमा मनाउने गर्छ । यो एकैदिन पर्ने पर्व भएतापनि यस पर्व मनाउने मगर र थारु समुदायको आ–आफ्नै चलन र संस्कृति अनुसार, मनाउने गरिन्छ भने तिनको आफ्नै विशेषता समेत रहेको छ ।


ADVERTISEMENT


मगर सुमदायको माघे संक्रान्ति


ADVERTISEMENT

# # #


मगर समुदाय तथा किँरात समुदायमा पनि धुमधाम साथ माघे संक्रान्ति मनाउने गरिन्छ । माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । बालकहरू धनु काँड खेल्दै माघे सङ्क्रान्तिमा रौनक थप्ने काम गर्छन । वनतरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जिरेलतिर लाग्छन घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घरतरुल खनेर तयारी गर्छन अबेर वनतरुल लिएर फर्केका भाइहरू रात भर तरुलपकाउने देखि पुरी बनाउने अधिष्ठान्न भोजन पकाउनुमा व्यस्त हुन्छन माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुलकुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई ुनिस्रोले पुज्ने गर्छन्। पूजा गर्दा थालमा अलिकति चामलका साथ विभिन्न तरुल, पुरी, मिठाई आदि खानेकुरा र दक्षिणा राखेर दिने चलनलाई निस्रो भनिन्छ। त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँठाउँमा पुगेका दिदीबहिनीलाई निस्रो बाँड्दै घरघरमा पुग्छन् ।

दोस्रो दिन युवतीहरू माघ खानलाई वनभोज जस्तैगरि समूह–समूहमा बाँडिएर गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन्। निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा ५ या ६ पटकसम्म त भातको विभिन्न परिकार बनाएर खान्छन गाउँमा धान नहुने भएर पनि होला, चामलको भात चिजु हुन्छ, त्यसैले त्यो दिन युवतीहरू अमन लाग्नेगरी भातबाट बनेका परिकारको स्वाद लिन्छन्। कहिलेकाहीं घरबाट धनुकाँड खेल्दै ुमाघ खान गएका युवतीहरूकहाँ पुगेका युवाहरूले पकाएको खाना खाइदिँदै थप रमाइलो र ठट्टा गर्ने पनि गर्छन ।

माघे सङ्क्रान्तिको अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर ‘तारो हान्ने’ चलन छ। विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि झुम्लाबाङमा काठको फ्ल्याकमा अंगारले लगाइएको गोलो चिन्हलाई बन्दुकको निसाना बनाइन्छ। पर्वको रमझममा हल्लिँदै निसाना ताकेकाहरूमध्ये जसले गोलो चिन्हमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ। साँझतिर स–साना केटाकेटी जम्मा भएर घरघरमा गई ‘बासी आन्द्रा पाई कि नपाई’ भन्दै सोध्ने गर्छन्। उनीहरूलाई पर्वमा बचेखुचेका खानेकुरा दिइन्छ । यसरी मगर समुदायमा माघे सङ्क्रान्ति हर्षोलासपूर्वक मनाइन्छ ।

थारुको माघी

माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुसको अन्तिम दिन घर–घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायतको परिकार बनाएर जाँडको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई धमार भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई माघ लहानु भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई खिचरहवा भनिन्छ ।