काठमाडौँ– पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले आइतबार फर्किङस्थित शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन गरेका छन् ।


ADVERTISEMENT


सो अवसरमा माधवनारायणलाई शेषनारायणमुनिको सूर्यकुण्डमा स्नान गराइएको थियो । माधवनारायणलाई स्नान गराइसकेपछि सूर्यकुण्डबाट शेषनारायणसम्म व्रतालुले जल चढाउने प्राचीन कालदेखिको विधि रहेको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन माधवनारायणका व्रतालुले शेषनारायणमा पूजा आराधना गर्ने प्रचलन रहेको छ । शेषनारायणमा पूजा आराधनाका लागि माघकृष्ण औँसीकै बेलुकी शनिबार व्रतालु त्यहाँ पुगेका थिए ।


ADVERTISEMENT

# # #


माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ । तीर्थयात्राका लागि व्रतालु शुक्रबार शालीनदीबाट हिँडेका थिए । उनीहरु त्यसरात पशुपतिमा नै बसेका थिए । दोस्रो रात शेषनारायणमा बास बसेपछि तेस्रो रात बास बस्न शालीनदी पुग्ने परम्परा छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ ।

हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधव नारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।