गलेश्वर– पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला रु १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको छ ।


ADVERTISEMENT


उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब रु १० करोडको कारोबार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष कटुवालले भने, ‘अपेक्षा गरेअनुसारकै कारोबार भएको छ, महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभारी छौँ ।’ आयोजकले महोत्सव अवधिभर रु १० करोडको कारोबार गर्ने लक्ष्य लिएको थियो । महोत्सवको अवसरमा प्रदर्शन गरिएका विभिन्न सङ्घसंस्था र जनजातिको झाँकी, भेषभूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई चिन्न र जगेर्ना गर्न मद्दत पुर्‍याएको महोत्सवको सांस्कृतिक विभागका संयोजक सुविन श्रेष्ठले बताए ।

महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्र्यौली नृत्य, एकल र खुला नृत्य प्रतियोगिता, फोटो प्रदर्शनीलगायत आयोजना गरिएको थियो ।

महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कूल दुई सय ५८ कक्ष राखिएको थियो । ती व्यापारिक कक्षमा समेत उत्साहजनक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा रु एक करोड २४ लाख ८७ हजार आम्दानी र रु एक करोड १५ लाख ७७ हजार दुई सय ११ खर्च भई रु नौ लाख नौ हजार सात सय ८९ बचत हुने अध्यक्ष कटुवालले जानकारी दिए।

परम्परागत रुपमा लाग्दै आएको मेलालाई व्यवस्थित गर्दै २०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजकत्वमा प्रत्येक तीन–तीन वर्षमा महोत्सव आयोजना हुने गरेको छ । महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गरेका थिए भने समापन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गरे ।