काठमाडौं – काठमाडौं किंग्स इलाभेन एभेरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा विराटगर वारियर्ससँग ८ रनले पराजित हुँदै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको हो ।


ADVERTISEMENT


सोमबार टियु क्रिकेट मैदानमा १४८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रनमात्रै बनाउन सक्यो । काठमाडौंका लागि कप्तान परवेज महारुफले ४२ रन बनाए । उनले ३७ बलमा ४ चौका प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै, काठमाडौंका लागि नरेश बुढाऐरले ३०, सिद्धान्त लोहनीले १५, सागर पुनले १३ र सागर कुमारले १२ रनको योगदान दिए पनि आफ्नो टिमलाई जित दिलाउन भने सकेनन् ।

विराटनगरका लागि अंशुमान रथले ३, वसन्त रेग्मी र रामनरेश गिरीले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । पहिलो विकेट ११ रन हुँदा आशिफ शेखलाई गुमाएको विराटनगरले सम्हालिँदै दोस्रो विकेटको लागि उत्कृष्ट प्रदर्शन गर्यो । विराटनगरका लागि हङकङका कप्तान बाबर हायतले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५ चौका र ४ छक्काको मद्दतमा ६७ रन बनाउँदै अर्धशतक प्रहार गरे । उनले जारी ईपीएलमा दोस्रो अर्धशतक समेत बनाए ।

त्यस्तै, विराटनगरका लागि अंशुमान रथले ३२ र कप्तान पारस खड्काले २६ रन बनाए । काठमाडौंका लागि सोमपाल कामी र अमरसिंह रौटेलाले समान २–२ विकेट लिए ।

५ खेल खेलेको विराटगरले आफ्नो अपराजित यात्रालाई निरन्तर दिँदै १० अंक बनाएको छ भने काठमाडौं ५ खेलबाट ४ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

सोमबार नै शक्ति गौचनको कप्तानीमा रहेको पोखरा र शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम ४ मा पुग्ने सम्भावनालाई बलियो बनाउनका लागि पनि दुबै टिमलाई जित्नैपर्ने दबाब छ ।