काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स प्लेअफमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैरहवा अन्तिम चारमा पुगेको हो ।


ADVERTISEMENT


१०९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । भैरहवाको जितमा आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । उनले नटआउट ४८ रनको योगदान दिए । आरिफले ४७ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । त्यस्तै, कप्तान शरद भेषवाकरले नटआउट ३२ रनको पारी खेले । उनले ३७ बलमा तीन चौका प्रहार गरे । भैरहवाका लागि प्रथम सालुंकेले १२ बलमा २५ रन बनाए ।


ADVERTISEMENT

# # #


पोखराका लागि ताज वालीले २ र कप्तान शक्ति गौचनले १ विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १८.३ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो । पोखराका लागि इस्रर उल्लाहले उत्कृष्ट ब्याटिङ गर्दै ४१ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उल्लाहले ४० बलमा ६ छक्का प्रहार गरे । त्यस्तै, पोखराका लागि सुनिल धमलाले १५, असिफ अली १० र शौरभ खनालले ९ रन बनाए ।

भैरहवाका लागि कप्तान शरद भेषवाकर, कृष्ण कार्की र दिपेश श्रेष्ठले समान २–२ विकेट लिए । ४ खेलबाट ३ खेलमा जित र १ खेलमा हार ब्यहोरेको भैरहवा ६ अंकसहित क्वालिफाइङ राउण्डमा प्रवेश गरेको हो । समान ४ खेलबाट २ खेलमा जित र २ खेलमा हार ब्यहोरेको पोखरा ४ अंकसहित लिगको तेस्रो स्थानमा छ । पोखराको पनि प्लेअफमा पुग्ने सम्भावना प्रबल रहेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा विराटनगर वारियर्स लिग चरणको सबै खेलमा जित हात पार्दै प्लेअफमा पुगेको छ । काठमाडौं किंग्स इलाभेन ८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।