काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहप्रति आफ्नो निराशा व्इक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफ्नो निराशा पोखेका हुन् ।
‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्ण गर्न अब के नै बाँकी रह्यो र’ भन्दै शुरु गरिएको पोष्टमा उनले यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर आफुहरु हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल भएको बताएका छन् ।
यस्तै उनले प्रेमको आत्मदहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको उल्लेख गर्दै लेखेका छन्, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।’
यस्तै, आफुहरुले आशा जनाउन नसकेको जनाउँदै लामिछानेले अघि लेखेका छन्, ‘प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला । तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस् ।’