काठमाडौं-मकवानपुरमा उत्पादन गरिएको छुर्पी अमेरिका र क्यानडा निकासी हुने गरेको छ । विदेशमा कुकरलाई हड्डीको सट्टामा छुर्पी खुवाउन थालेकाले निकासी हुन थालेको हो । हेटौंडा उपमहानगरपालिकास्थित गायत्री डेरी उद्योगले हेटौंडामा छुर्पी उत्पादन गर्दै आएको छ । उत्पादित छुर्पी राजधानीदेखि अमेरिका र क्यानडासम्म पुग्न थालेको हो ।


ADVERTISEMENT


अमेरिका र क्यानडामा यहाँ उत्पादन गरिएको छुर्पी कुकुरलाई खुवाउने गरिएकाले माग बढ्दो छ । यहाँ गाईको दूधबाट छुर्पी उत्पादन हुन्छ। नकाटेको छुर्पी (लास्सा) अमेरिका र क्यानडामा निकासी हुने गरेको हो । टुक्रा पारिएको छुर्पी राजधानीलगायत ठूला सहरमा बिक्री हुने गरेको उद्योगले जनाएको छ ।


ADVERTISEMENT

# # #


सुरुसुरुमा हेटौंडामा बढी गर्मी भएर छुर्पी उत्पादन गर्न समस्या देखिएर मकवानपुरको भैंसेस्थित किटनीको डाँडामा छुर्पी उद्योग स्थापना गएिको थियो ।

त्यस स्थानमा दूध लैजान र उत्पादित छुर्पी ल्याउन कठिन भएपछि चिसो बनाउने उपकरण जडान गरी हेटौंडामै उद्योग स्थापना गरिएको छ ।

उक्त उद्योगले दैनिक १ हजार ५ सय लिटर दूधको छुर्पी उत्पादन गर्दै आएको छ। उद्योगमा प्रत्यक्ष रूपमा २० जनाले रोजगारी पाएका छन् ।

छुर्पी उद्योग स्थापना भएपछि गाईपालन व्यवसायलाई टेवा पुगेको जिल्ला पशुसेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधानले बताए ।

‘जिल्लामा उत्पादित छुर्पी विदेशमा निकासी हुनु भनेको यो महत्त्वपूर्ण कार्य हो,’ उनले भने, ‘यहाँको छुर्पीमा पनि इलाम र रसुवामा उत्पादन गरेसरहकै गुणस्तर छ ।’