काठमाडौं-सरकारले स्थानीय तह गठन भएको ६ महिना बितिसक्दासमेत स्थानीय तहमा आवश्यक कर्मचारी पठाउन सकेको छैन । सरकारले आवश्यकताअनुसार कर्मचारी पठाउन नसक्दा तहले लामो समयदेखि विभिन्न समस्या झेल्दै आएका छन् ।


ADVERTISEMENT


संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार मुलुकभरका सात सय ५३ वटा स्थानीय तहमा ३६ हजार कर्मचारी आवश्यक पर्छ । तर, अहिले करिब १८ हजार मात्रै कार्यरत छन् ।


ADVERTISEMENT

# # #


स्थानीय विकास मन्त्रालयले केही महिनादेखि तहहरूमा हाललाई आवश्यक पर्ने कर्मचारी दरबन्दीको अध्ययन गरेको थियो । संविधानले दिएको अधिकार सूचीअनुसार काम गर्न पनि तत्काल ३६ हजार ४ सय १५ कर्मचारी आवश्यक पर्ने अध्ययनले देखाएको थियो ।

मन्त्रालयले तहबाटै सबै प्रकारका सेवा दिने गरी विषयगत तथा सेवा समूहका कर्मचारी कति आवश्यक पर्छ भन्ने विस्तृत विवरणसमेत तयार पारेको छ ।

जसअनुसार सचिवस्तरका एक, सहसचिवस्तरका २५, उपसचिवस्तरका एक हजार आठ सय ६६, अधिकृतस्तरका ६ हजार पाँच सय ३६, नायव सुब्बास्तरका २४ हजार चार सय ५४, खरिदारस्तरका तीन हजार पाँच सय ३३ जना कर्मचारी आवश्यक पर्छ । तर, हाल स्थानीय तहमा स्थायी, अस्थायी, करारका गरी १७ हजार तथा निजामती एक हजार गरी १८ हजार कर्मचारी कार्यरत छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका संघीयता हेर्ने सचिव खगराज बरालले स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रभावकारी हुन नसकेकाले सरकारले गम्भीरपूर्वक कदम चाल्नुपर्ने औंल्याए ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न आवश्यक कदम चाल्नु जरुरी रहेको बताए ।