काठमाडौं – चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । चितवन लिग चरणको आफ्नो अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्ससँग ४ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।


ADVERTISEMENT


८८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले निर्धारित ओभर सकिन ९ बल बाँकी हुँदा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यसअघि नै प्लेअफमा पुगेको भैरहवाले उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


५ खेलबाट ४ खेलमा जित र एक खेलमा हार ब्यहोरेको भैरहवाको ८ अंक भएको छ । फाइनल प्रवेशका लागि भैरहवाले अब लिगको शीर्ष स्थानमा रहेको विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

भैरहवाको जितमा पुनित मिश्रले ३० र रोहित कुमार पौडेलले २० रनको योगदान दिए । त्यस्तै, भुपेन्द्र थापाले १३ बनाएका थिए । चितवनका लागि बलिङतर्फ दिपेन्द्रसिंह ऐरी र शाहब आलमले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रनको झिनो योगफल तयार गरेको थियो । सुरुवाति देखि नै दबाबमा खेलेको चितवनले उच्च स्कोर बनाउन सकेन । चितवनका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले समान १५–१५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । चितवनका लागि ललितसिंह भण्डारीले १३ र आकाश थापाले ११ रन बनाएका थिए ।

भैरहवाका लागि कप्तान शरद भेषवाकरले ३ विकेट लिए । त्यस्तै, भुवन कार्की र हरिशंकर शाहले समान २–२ विकेट लिए । प्रतियोगिताबाट बाहिरिएको चितवनको ५ खेलबाट ४ खेलमा हार र १ खेलमा जितसहित २ अंक रहेको छ ।