काठमाडौं-राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेताहरुले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश रोकेर विवादमा नआउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


अध्यादेशसम्बन्धमा दलीय छलफल तीब्र पारेकी भण्डारीलाई भेट्न हिजो साँझ शीतल निवास पुगेका राजपा अध्यक्ष मण्डलका नेताहरुले संवैधानिक व्यवस्थाअनुसार अध्यादेश अगाडि बढाउन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


संवैधानिक अधिकार प्रयोग गर्दा राष्ट्रपति विवादमा पर्न नहुने भन्दै उनीहरुले संक्रमणकाल अन्त्यका लागि समेत अध्यादेश रोक्न नमिल्ने सुझाव दिएको भेटमा सहभागी अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिएका थिए ।

अध्यादेश स्वीकृत नहुँदा बर्तमान सरकारको आयु समेत लम्बिने हुँदा तत्काल प्रमाणीकरण गरी निर्वाचन परिणामको सम्मान गर्न सुझाव दिएको यादवको भनाई छ । एकल संक्रमणीय व्यवस्थाको अभ्यास विगतमा समेत भएकाले सोही बिषयलाई लिएर अध्यादेश रोके राष्ट्रपति भण्डारीमाथि पार्टीगत काम गरेको आरोप लाग्ने उनीहरुको तर्क थियो ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव सहभागी भेटमा राष्ट्रपति भण्डारीले मधेश केन्द्रित नेताहरु चुनावमा सहभागी भई विजयी बनेकोमा बधाई दिएकी थिइन् ।

वर्तमान राजनीतिक गतिरोध अन्तका लागि दलहरुले धैर्यता र जिम्मेवारीपन बढाउन राष्ट्रपति भण्डारीले आग्रह गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

जवाफमा राजपा नेताहरुले चुनावलाई समेत आन्दोलनका रुपमा लिएको र आन्दोलनको एजेण्डालाई जनताले स्थापित गराएको तर्क गर्दै ठुला दलसहित सवै पक्ष अब जिम्मेवार बन्न जरुरी रहेको बताएका थिए ।

अध्यादेश प्रमाणीकरण गर्ने नगर्ने बिषयमा सरकार र एमालेबीच जुहारी चलिरहेका समय राष्ट्रपति भण्डारीले दलीय छलफल तीब्र पारेकी हुन् । उनले यसअघि कांग्रेस र संघीय समाजवादी फोरम नेपालका नेताहरुसँग छुट्टाछुट्टै परामर्श गरेकी थिइन् ।