काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सरकारमा बसिरहन कुनै रहर नभएको बताएका छन् । शनिबार टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चाँडै सरकार छाड्ने बताए ।


ADVERTISEMENT


टुँडिखेलमा आयोजित कार्यक्रममा सङ्क्षिप्त सम्बोधन गर्दै उनले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि राजनीतिक गतिरोध तोडिएको बताएका छन् । उनले अध्यादेश जारी गरेकोमा राष्ट्रपतिलाई धन्यवाद पनि दिएका छन् ।
विभिन्न आन्दोलनको नेतृत्व गरेको काँग्रेसप्रति शङ्का नगर्न पनि उनले आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


‘काँग्रेसले २००७ सालको क्रान्तिदेखि २०६२ र ६३ को जनआन्दोलनसम्मको नेतृत्व गरेको इतिहास छ’, देउवाले भने, ‘हामी संविधान कार्यन्वयप्रति प्रतिबद्ध छौँ । त्यसै क्रममा निर्वाचन सम्पन्न भयो । यसमा धन्यवाद दिनुपर्नेमा अनेक शङ्का गर्ने ?’ उनले एमाले र माओवादी पार्टीलाई अनेक शङ्का नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले देश अब सङ्घीयता कार्यन्वयको चरणमा पुगेको उल्लेख गर्दै भर्खरै सम्पन्न चुनाव यसको एउटा महत्वपूर्ण चरण भएको बताएका छन् । कार्यक्रममा ल्होसारको शुभकामना व्यक्त गर्दै उनले देशका सबै चाड पर्वको सम्मान र संरक्षणबाट मात्र विकास सम्भव भएको बताएका छन् ।

देशभित्रका सबै कला र संस्कृतिको रक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले सबै जात जाति भाषा भाषीको सम्मानबाट मात्रै समग्र देशको विकास हुने बताएका छन् । प्रत्येक वर्ष पुस १५ गतेको दिन गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत स्वरूप ल्होसार मनाउने गर्छन् ।

गुरुङहरूको आफ्नै सांस्कृतिक पात्रो अनुसार शनिबारबाट पात्रो परिवर्तन भएको छ । आफ्नो सघन बसोबास रहेको क्षेत्रमा धुमधाम मनाइने यस चाडको अवसरमा राजधानीमा बसोबास गर्दै आएका गुरुङले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै तीन दिनसम्म चाड मनाउने गर्छन् ।

टुँडिखेलको कार्यक्रममा तमु (गुरुङ) समुदायको संस्कृति झल्काउने विभिन्न सांस्कृतिक झाँकीहरू, गीतसङ्गीत तथा भोज भतेरसमेत आयोजना गरिएको थियो । लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पनि गुरुङ समुदायले नयाँ वर्ष धुमधामसँग मनाउँछन् । सरकारले हरेक वर्ष पुस १५ गतेलाई तमु ल्होसारको नाममा सार्वजनिक बिदा दिने गरेको छ ।