काठमाडौँ– माल्दिभ्समा जारी तेस्रो एसियन भलिबल कन्फिडिरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।


ADVERTISEMENT


नेपालले पुरुष भलिबल प्रतियोगितामा पाएको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । माल्दिभ्सको राजधानी मालेमा आज भएको कीर्गिस्तानसँगको खेलमा ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो । कीर्गिस्तानसँगको खेलमा नेपाल १६–२५, २३–२५ र २०–२५ अङ्कले पराजित भएको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा आयोजक माल्दिभ्ससँगै नेपाल, कीर्गिस्तान र टुर्किमिनास्तानको सहभागिता रहेको छ । यसअघि नेपालले माल्दिभ्सलाई हराएको थियो । कीर्गिस्तान र ताजिकिस्तानले सेन्ट्रल जोन उपाधिका लागि बिहिबार खेल्नेछन् ।

नेपालले चार दशकदेखि अन्तर्राष्टिय भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । तर पुरुष भलिबल टोलीले पहिलोपटक पदक जितेको मालेमा रहनुभएका भलिबल प्रशिक्षक जगदिशप्रसाद भट्टले जानकारी दिए।

नेपाली महिला भलिबल टोलीले भने दक्षिण एसियाली खेलकुदमा तीनवटा कास्य पदक जितिसकेको छ । ‘पहिलोपटक कास्य पदक जितेका छौँ, यो नेपाली भलिबलका लागि ठूलो सफलता हो’ प्रशिक्षक भट्टले भने ।सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट नेपाली पुरुष भलिबल टिमले अन्तर्राष्टिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो ।

यस्तै नेपालले सन् १९७८, १९८२ र १९८६ मा एसियाली खेलकुदमा भाग लिएको थियो । सन् १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग)देखि नियमित रुपमा सहभागिता जनाउँदै आएपनि नेपालले पुरुष भलिबलमा पदक जित्न सकेको थिएन । सागमा नेपालको महिला भलिबल टोलीले भने तीनवटा कास्य पदक जितेको छ ।