काठमाडौं-कांग्रेसले प्रदेशसभाअन्तर्गतका समानुपातिक उम्मेदवारको त्रुटिपूर्ण सूची सच्याएर बुधबार निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगले क्लस्टर र क्रमानुसार उम्मेदवारको नाम नमिलेको भन्दै त्रुटि सच्याउन कांग्रेसलाई मंगलबार पत्र पठाएको थियो । कांग्रेसले यसअघि पठाएको सूचीमा १, २ र ५ नम्बर प्रदेशमा त्यस्तो त्रुटि भेटिएको थियो ।


ADVERTISEMENT


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकले प्रदेश १ मा सीतादेवी पौडेलको नाम झिकेर शान्त पौडेलको नाम उम्मेदवारको सूचीमा समावेश गरेको छ । क्रमानुगत नाममा सीतादेवीभन्दा शान्तको नाम अघि थियो । तर पार्टीले क्रमानुगत गर्नुपर्ने नियम लत्याएर सीतादेवीको नाम पठाएको थियो । सीतादेवीको नाम हटाइएको प्रति कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बैठकमा आपत्ति जनाएका थिए ।


ADVERTISEMENT

# # #


उक्त प्रदेशमा ७ जना महिला पठाउनुपर्नेमा ६ जनामात्रै पठाइएको र दलित एकजना पनि नराखिएपछि आयोगले क्लस्टर नमिलेको भन्दै ध्यानाकर्षण गराएको थियो । त्यसलाई मिलाउन यसअघिको सूचीमा परेका उम्मेदवार टेकचन्द्र विश्वासलाई हटाएर कांग्रेसले दलित कोटामा कल्पनाकुमारी सरदारलाई पठाएको छ ।

प्रदेश २ मा महिला जनजाति कोटामा कांग्रेसले शोभाकुमारी लामाको नाम थपेको छ । आदिवासी जनजातिअन्तर्गत महिलातर्फका कोटा नमिलेपछि कांग्रेसले सलमान खातुनको नाम हटाएर लामालाई सिफारिस उम्मेदवारको सूचीमा राखेको हो ।

प्रदेश ५ मा अल्पसंख्यकबाट नराखी खस–आर्यतर्फका महिला कोटामा बढी राखिएपछि कांग्रेसले त्यसलाई सच्याउँदै अल्पसंख्यकबाट शान्तिदेवी बर्मा सोनारको नाम सूचीमा समावेश गरेको छ । उनलाई पठाउँदा खस–आर्यबाट यसअघि उम्मेदवार रहेकी सूर्यमती उपाध्यायको नाम काटिएको छ ।

समानुपातिक उम्मेदवार छनोट गर्ने पार्टीको कार्यशैली र प्रक्रियाबारे बैठकमा केही नेताहरूले आपत्ति जनाएका थिए । उनीहरूले समुदायको प्रतिनिधित्वभन्दा पनि गुटका आधारमा भागबनडा गरिएको भन्दै आपत्ति जनाएका थिए ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले समानुपातिक उम्मेदवारको निर्णय लिँदा पार्टीको संसदीय समितिले सिफारिस गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्नेमा उक्त प्रक्रिया र पद्धतिविपरीत गएर भागबन्डाका आधारमा गरिएको भन्दै आपत्ति जनाएका थिए ।

‘न त संसदीय समितिमा छलफल भयो, न केन्द्रीय कार्यसमितिले अनुमोदन गर्‍यो,’ केसीले भने, ‘गुट र कोटरीमा बाँडचुँड गरेर नाम पठाइयो । यो प्रक्रियासँग मेरो सहमति छैन ।’ उनले तामाङ बाहुल्य रहेको प्रदेश ३ बाट एक जना पनि उक्त समुदायबाट नपारिनु आपत्तिजनक रहेको बताए ।