काठमाडौं-पछिल्लो पाँचदिन यता चिसो हावासंगै बढेको शितलहरका कारण सप्तरीको जनजिवन कष्टकर भएको छ । जाडोका कारण जिल्लामा ३ जनाको मृत्यु भएको छ भने स्वास्थ्य संस्थाहरुमा पनि बिरामीको चाप बढेको छ । खासगरी विपन्न बस्तीहरुमा न्यानो लुगाको अभावमा जाडो छल्न संकट उत्पन्न भएको छ ।


ADVERTISEMENT


पाँचदिन यता सप्तरी लगायतको क्षेत्रमा घाम लागेको छैन । बढेको जाडोका कारण कठ्याग्रिंएर छिन्नमस्ता गाउपालिका–१ बिरपुरका ३६ वर्षिय कुलदिप राय र सोही वडाको बरही टोलका ३५ वर्षिय रामदयाल रामको मृत्यु भएको वडाध्यक्ष विनोदकुमार यादवले जानकारी दिए । सोमबार र मंगलबार मृत्यु भएका राय र राम दुवैजना मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


यसैगरी सोही वडाकी एक महिला ७२ वर्षीया रजियादेवी रायको एकसाता अघि जाडोका कारण मृत्यु भएको वडाध्यक्ष यादबले जानकारी दिए । वडाध्यक्ष यादवका अनुसार विपन्न बस्तीमा अहिले जाडो छल्न निक्कै मुस्किल भएको छ ।

चिसो हावासंगै शितलहरी बढेपछि आजदेखी सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेका अनुसार चिसोका कारण सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु विद्यालयसम्म पुग्न निक्कै कठिनाई उत्पन्न भएपछि आजवाट तीनदिनका लागि जिल्लाका सबै चारसय १२ सामुदायिक विद्यालय बन्द गरिएको छ । जिशिअ पाण्डेले मौसम सुधार भएको खण्डमा आईतवारवाट जिल्लाका सामुदायिक विद्यालय खुल्ने बताए ।

निर्वाचन लगायतका कारणले साुमदायिक विद्यालयहरु लामो समय बन्द रहँदा विद्यार्थीको पढाई प्रभावित हुने अबस्था आएको तर मौसमको खराबीका कारण विद्यार्थीलाई विद्यालयमा पढाउन सक्ने अवस्था नरहेकाले शनिबारसम्मका लागि बिदा दिइएको जिशिअ पाण्डेले बताए ।

जिल्लाका सामुदायिक विद्यालयहरु आजवाट बन्द गरिएपनि निजी विद्यालयहरु भने संचालन नै रहने छ । चिसो अत्यधिक बढेपछि जिल्लाका स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढन थालेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानवहादुर बस्नेतका अनुसार जिल्लाका स्वास्थ्य संस्थाहरुमा कोल्ड डायरिया, रुघाखोकी, ज्वरो, निमोनिया, दम लगायतका बिरामीको चाप बढेको छ ।

खासगरी वृद्धवृद्धा र वालवालिका बिरामी पर्ने क्रम बढेको छ । चिसो अयधिक बढेकाले न्यानो कपडा लगाउन तथा तातो खाना र झोल पदार्थ खान स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।