जाजरकोट– नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य तथा पाँचतारा संरक्षण मञ्चका अध्यक्ष रवीन्द्र शाहको हत्याको विरोधमा आज जिल्ला बन्द आह्वान गरिएको छ ।


ADVERTISEMENT


स्थानीय बासिन्दाले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै बन्द गरेका हुन् । मङ्गलबार बेलुका भेरी नगरपालिका–३ निवासी ३६ वर्षीय शाहलाई कार्यालयको काम सकेर घुम्न निक्लिएको अवस्थामा जिल्ला अस्पताल नजिक जाजरकोट डोल्पा सडकमा ढुङ्गा प्रहार गरी अज्ञात समूहले हत्या गरेको थियो ।
हत्याको नागरिक समाज, नेविसङ्घ, नेपाली काँग्रेस जाजरकोटलगायतले विज्ञप्ति निकालेर विरोध गरेका छन् । सँगै घुम्न गएका पाँच जनालाई प्रहरीले नियन्त्रण लिएर सोधपुछ जारी राखेको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँमा बिरोध प्रदर्शन
शाहको हत्याको विरोधमा नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि जम्मा भएर नेविसंघ नेता/कार्यकर्ताले बुधबार दिउँसो विरोध प्रदर्शन गरेका हुन् ।

शाहको हत्या बिरोधमा नेबिसंघ केन्द्रीय समितिको आकस्मिक बैठकले काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महरका अनुसार १७ गते देशभरका क्याम्पस अगाडि एकघण्टा चक्काजाम गर्ने र १८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने छ ।

जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको अध्यक्ष महरले जानकारी दिए ।