काठमाडौँ– आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा पूर्व अर्थमन्त्रीहरुले सरकारलाई आ–आफ्नो राय दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको विद्यमान चुनौतीको सामना गर्नेगरी आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT


बैठकमा बोल्दै पौडेलले अर्थतन्त्रका सम्भावित चुनौतीलाई सामना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने लक्ष्यका साथ बजेट आउनुपर्ने बताए । राजस्व परिचालनका सन्दर्भमा देखा परेका गम्भीर समस्याको पहिचान गर्दै पौडेलले कर प्रणालीलाई प्रभावकारी बनाउने, कर चुहावट नियन्त्रण गर्न सक्ने आर्थिक अवस्था सुधार हुन सक्ने धारणा व्यक्त गरे ।


ADVERTISEMENT

# # #


मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन बजेट केन्द्रित हुनुपर्ने उनको भनाई छ । चालु आर्थिक बर्षको अर्थिक वृद्धिदरको लक्ष्य हासिल हुन कठिनाइ हुने देखिएको बताउँदै उनले राजस्व संकलन पनि राम्रो नभएको अवस्थामा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने चूनौती विद्यमान रहेको जिकिर गरे ।

त्यस्तै छलफलमा भाग लिदै अर्का पूर्व अर्थमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्र बहादुर कार्कीले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकार र संसद एक भएर जनताको आकांक्षा पुरा गर्नुपर्ने सुनाए । स्रोतमा आएको सङ्कुचनका कारणले हौसिएर बजेट बनाउने सुविधा नरहेको भन्दै कार्कीले लोकप्रिय नभई यथार्थपरक बजेट आवश्यक रहेको बताए ।

आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाइ दिगो आर्थिक विकासको आधार तयार नहुने भएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । उनले मुलुकको स्रोत साधनको प्रचुर उपभोग गरेर आर्थिक अवस्थामा सुधार ल्याउनुपर्ने जनाए ।