काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको विद्यमान चुनौतीको सामना गर्नेगरी आगामी आर्थिक बर्षको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक बर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिदै पौडेलले अर्थतन्त्रका सम्भावित चुनौतीलाई सामना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने लक्ष्यका साथ बजेट आउनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


पौडेलले राजस्व परिचालनका सन्दर्भमा देखा परेका गम्भीर समस्याको पहिचान गर्दै कर प्रणालीलाई प्रभावकारी बनाउने, कर चुहावट नियन्त्रण गर्न सक्ने आर्थिक अवस्था सुधार हुन सक्ने बताए । उनले भने, ‘राजश्व सञ्चालनको अवस्था चालू आर्थिक वर्षको लक्ष्यको तुलनामा ५० प्रतिशत मात्रै राजश्व परिचालन गर्न सकेका छौँ । यो कुठै ठट्टाको विषय होइन, धेरै गम्भीर संकेत हो । यसले हाम्रो अर्थतन्त्रको अवस्था के छ भन्ने बताउँछ् ।’

मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन बजेट केन्द्रित हुनुपर्ने उनले बताए । उनले चालु आर्थिक वर्षको अर्थिक वृद्धिदरको लक्ष्य हासिल हुन कठिनाइ हुने देखिएको र राजस्व संकलन पनि राम्रो नभएको अवस्थामा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने चुनौती विद्यमान रहेको जिकिर गरे ।

त्यस्तै छलफलमा भाग लिदै कांग्रेस सांसद ज्ञानेन्द्र बहादुर कार्कीले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकार र संसद एक भएर जनताको आकांक्षा पुरा गर्नुपर्ने बताए । उनले स्रोतमा आएको सङ्कुचनका कारणले हौसिएर बजेट बनाउने सुविधा नरहेको भन्दै लोकप्रिय नभई यथार्थपरक बजेट आवश्यक रहेको बताए ।

आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाइ दिगो आर्थिक विकासको आधार तयार नहुने भएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले मुलुकको स्रोत साधनको प्रचुर उपभोग गरेर आर्थिक अवस्थामा सुधार ल्याउनुपर्ने बताए ।

त्यस्तै माओवादी केन्द्रमा सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थाको चित्रण सबैको साझा अवस्था भएको भन्दै अर्थतन्त्रलाई सुधार गर्न साझा रुपमा सोच्नुपर्ने बेला आएको बताए । उनले संघीयता कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने र ठूला पूर्वाधार बनाउनुभन्दा जनताको जीवनस्तर सुधार्ने विषयलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा राखे ।

उनले बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्न समेत सुझाव दिए ।