प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका विद्यार्थी संगठनले पार्टीका शीर्ष नेताहरुलाई निर्वाचनमा जिताउने जिम्मेवारी पाएका थिए । त्यही अनुसार नविना लामाको जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड ’ लाई निर्वाचनमा सहयोग गर्नु थियो । यसमा उनी सफल पनि भइन् । त्यस्तै अन्य उम्मेदवारलाई पनि उनले सहयोग गरेकी थिइन् । एमालेको भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष समेत रहेकी लामा प्रतिनिधिसभाको लागि समानुपातिकतर्फबाट सांसद बन्ने लगगभ पक्का भएको छ । यो बीचमा निर्वाचनको अनुभव कस्तो रह्यो ? सांसद बन्ने निश्चित भइसकेपछि कस्तो महशुस भइरहेको छ ? अब पाँच वर्ष संसदको यात्रा कस्तो हुन्छ ? लगायतका विषयमा उनै नविना लामासंग हिमालय पोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तपाई मेहनेतका साथ खटिरहनु भएको थियो । पार्टीका शीर्ष नेतृत्वलाई जिताउने जिम्मेवारी लिनु भएको थियो ।  कस्तो रह्यो अनुभव ?


ADVERTISEMENT

# # #


अत्यन्तै संस्थागत ढंगले नेकपा एमाले र माओवादीको गठबन्धनलाई जिताउने हिसाबका योजना बनाएर तयारी गरेका थियौँ । त्यसले सफलता हासिल गरेको छ । स्थायी सरकार, विकास, समृद्धि र संविधानको सफल कार्यान्वयनको मुद्दा लिएर निर्वाचन गएका थियौँ । हाम्रा एजेण्डा जनताका पक्षमा भएकाले जनमत हाम्रो पक्षमा आयो । यी कुराको कार्यान्वयनका लागि अब सबै मिलेर जानुपर्छ । वामपन्थीहरु निर्णयक तहमा पुग्नुपर्छ भनेर अहिले लागिरहेका छौ । हामीले निर्वाचनमा योजना अनुसार काम गरेर पार्टी नेतृत्वलाई जितायौँ । यसका लागि उहाँहरुले हामीले धन्यवाद पनि दिइसक्नु भएको छ । उहाँको विजयी यात्रामा हाम्रो अर्थपूर्ण सहयोग रह्यो । त्यसमा नेतृत्व वर्ग खुसी हुनुहुन्छ ।

निर्वाचनमा वाम गठबन्धनको पक्षमा यतिधेरै जनमत देखिनुका आधारहरुलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

यो देशमा अस्थायी सरकार थियो । एक वर्षभन्दा बढी कुनैपनि सरकार टिकेको थिएन । जो मन्त्री हुन्थे उनीहरु दलगत र व्यक्तिगत स्वार्थमा लिप्त भएकाले आफ्नो वरिपरी मात्रै हेर्ने गर्दथे ।जनता स्थिर सरकारले मात्रै विकास गर्नसक्छ भन्ने विश्वासमा आइसकेको हामीले निवार्चनमा  त्यो मुद्दालाई अगाडि बढाएका थियौँ । वाम गठबन्धनले जनताको पक्षमा, समुन्नत नेपाल निर्माणको पक्षमा, किसान मजदुरको पक्षमा, राष्ट्रियताको पक्षमा केही न केही गर्छ भन्ने कुरामा जनतालाई विश्वस्त पार्न सक्यौँ । जनताले त्यसकै लागि मत दिएका हुन् ।

वाम गठबन्धनको बहुमत पछि सरकार गठनको प्रक्रिया अगाडि बढाउन पर्नेमा तपाईहरुको आन्तरिक कारणले पनि केही ढिलाई भइरहेको छ । सरकारको नेतृत्व कसले गर्ने, पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा विवाद अझैं पनि टुंगोमा पुगेको छैन । यी कुराहरुलाई कसरी सल्ट्याउनुपर्छ ?

वाम गठबन्धन वर्तमान भन्दा पनि भविष्यको लागि निर्माण गरिएकोले अहिलेको कार्य व्यवस्थापन ठूलो कुरा होइन । सुखी नपाली समृद्ध नेपाल निर्माणको कुरा महत्वपूर्ण हो । जहाँसम्म कार्यकारी पदहरुको कुरा छ । यसलाई पार्टीका अग्रज नेतृत्वले सहमतीका आधारमा टुंग्याउनु पर्छ । केपी ओली नै प्रधानमन्त्री हुने कुरा त निर्विरोध भइसकेको छ । यो विवादको विषय हो जस्तो लाग्दैन । सरकारमा यदि कांग्रेस पनि सहभागी हुन्छ भने उसलाई समेटेर जाँदा राम्रो हुन्छ । किनकी यो एउटा पार्टीको निश्चित अभियान नभएर देश बनाउने अभियान हो । समृद्ध नेपाल निर्माणको अभियान हो जती धेरैको सहमती र सहकार्य हुन्छ त्यती नै देशलाई फाइदा हुन्छ ।

पछिल्लो समयमा राजनीतिक दलहरु देशमा अब राजनीतिक संक्रमण सकिएर विकास र समृद्धिको एजेण्डा मात्र बाँकी रहेको बताउँदै आएका छन् । खासमा यो विकास र समृद्धि कसरी सम्भव हुन्छ ?

विकास र समृद्धिको दुष्टिकोणले हामी असध्यै पछाडि परेका छौँ । यसको कारण भनेको हाम्रो राष्ट्रिय सहमती, स्थीर सरकार र दलहरुको एकताको कमी नै हो । अब देश र जनताको उज्ज्वल भविष्यको सपना कोर्ने हो भने सबै मिलेर जानुपर्छ । त्यसमा विधि प्रकृया र अनुशासनको आवश्यकता पर्दछ । त्यो पद्दतीको निर्माणका लागि पाँच वर्षे सरकार अनिवार्य छ । एउटा निश्चित पद्दतीमा बसेर काम गर्ने हो भने विकास गर्न गाह्रो छैन । हामीले कानुनी रुपमा नीति निर्माण गरिसकेका छौँ । संघियताको कार्यान्वयनको सुरुवात भइसकेको छ । जनताले स्थानीय सरकार पाइसकेका छन् । प्रदेश र संघीय सरकारका लागि पनि प्रक्रिया भइरहेको छ । देश निर्माणका लागि सबैभन्दा ठूलो कुरा भनेको सहमती र सहकार्य नै हो ।

तपाईले वाम गठबन्धनको सरकारमा कांग्रेसलाई सहभागी गराउनु पर्नेे कुरा गर्नुभयो । राजपा पनि वाम सरकारमा सहभागी हुने चर्चा चलिरहेको छ । खासमा मधेशवादी दलहरु पनि सरकारमा अटाउने सम्भावना कत्तिको छ ?

यसमा म आफ्नो व्यक्तिगत कुरा भन्दैछु । सम्भावना एकदमै छ । जनताले मत स्थीर सरकारका लागि दिएको हो । जसले चलाएपनि पाँच वर्ष सरकार चलाएर देशलाई एउटा गतीमा पुगाओस् भनेर भोट हालेका हुन् । यदि कोही कसैलाई सहभागी गराएमा देशको हित र विकास हुन्छ भने त्यो किन नगर्ने ? कसैले प्रतिपक्षमै बस्नुपर्छ भन्ने पनि जरुरी छैन । अर्कोकुरा प्रतिपक्षले आन्दोलन गर्ने, सरकारलाई गिराउने मात्रै होइन सरकारलाई विकास निर्माणको लागि सहजिकरण गर्ने, लोकतन्त्रको रक्षाका लागि सरकारसंग मिलेर काम गर्ने हो ।

सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यामतिर तपाईलाई बधाईको ओइरो आइरहेको छ । अब सांसद बन्ने लगभग पक्का भइसकेको छ । संसद भवनतिरको तयारी कसरी गरिरहनु भएको छ ? कस्तो महशुस गर्नुभएको छ ?

यसमा म पनि एकदमै सकारात्मक छु । यो लामो समय संगठन, पार्टी, जनता, समुदायको हितको लागि निरन्तर गरेको संघर्ष, त्यागको एउटा सम्मान हो जस्तो लाग्छ । पार्टीले, जनताले मुल्याङ्कन गरेर आज यो सम्मान प्राप्त भएको छ । यसले सिङ्गो देश, युवा जगतमा एउटा राम्रो सन्देश दिनेछ भन्ने लाग्छ । काम नै ठूलो कुरा हो । जनताको सेवा ठूलो कुरा हो । देशको राष्ट्रियता ठूलो कुरा हो । त्यो भन्दा बाहिर बसेर काम गर्नु हुँदैन ।

युवा, महिलाको वा भनौँ समग्र जनताको प्रतिनिधित्व गरेर पाँच वर्ष सांसद बन्दैगर्दा यो अवधिमा के गर्छु जस्तो लागेको छ ?

यसमा सबैभन्दा पहिलो कुरा त हामीले विधि र प्रक्रियामा टेकेर नै काम गर्ने हो । हामीसंग थुप्रै अनुभव पनि छन् । अनुभवी अग्रजहरु पनि हुनुहुन्छ । सबैको राय सल्लाह लिएर नै काम गर्न सकिन्छ । विकास समृद्धि, पिछडिएका वर्ग समुदायको उत्थानका लागि नै हामीले काम गर्नुपर्छ । त्यसो हुँदा युवाहरु देशको भविष्य हो । युवाहरुको आकर्षणका लागि के काम गर्दा राम्रो हुन्छ ? राष्ट्र निर्माणमा युवाहरुलाई कसरी परिचालन गर्न सकिन्छ ? भन्ने विषयमा छलफलका आधारमा काम अगाडि बढाउनु पर्छ । संसदमा युवा, महिला, जनजातीको प्रतिनिधित्वलाई एउटा राम्रो उदाहरण बनाउनका लागि मेरो निरन्तर कोशिस रहन्छ ।

अन्त्यमा, विश्वका धेरै देशमा कम उमेरमा नै नेतृत्व तहमा पुगेका महिला, युवाका उदाहरण प्रशस्त छन् । तपाईपनि त्यही सम्भावना बोकेको व्यक्तित्व हुनुहुन्छ । यदि यो बीचमा त्यस्तो जिम्मेवारी आयो भने पार्टी, जनता र देशप्रतिको जिम्मेवारीलाई कसरी निर्वाह गर्नुहुन्छ ?

मैँले आफ्नो भविष्य देश र जनताको भविष्यसंग जोडेको छु । देशको विकासका लागि, जनताको उज्ज्वल भविष्यका लागि हामी लाग्ने छौँ । हिजो पनि हाम्रो खबरदारीको भूमिका थियो । आजपनि हामी यसमा कमी आउन दिने छैनौँ । समाजको परिवर्तनका निम्ती, समुन्नत नेपालको निर्माणका लागि हामीजस्ता पुस्ताको आवश्यकता छ जस्तो लाग्छ । त्यस कारण जुन सुकै जिम्मेवारीका लागि म आफू सक्षम छु जस्तो लाग्छ ।