नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङसंगको कुराकानी : 


ADVERTISEMENT


कांग्रेसको नेतृत्वमा तीन वटै तहका निर्वाचन सम्पन्न भएका छन् । त्यसपछिको समीक्षा कस्तो छ ?


ADVERTISEMENT

# # #


हो,  हामीले तीन वटा निर्वाचनहरु सम्पन्न गराएका छौँ । स्थानीय तहमा नतिजा ठिकै आएपनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेस नराम्रोसंग पराजित भयो । सातवटा मध्ये कुनैपनि प्रदेशमा सरकार निर्माणका लागि बहुमतको स्थितीमा छैनौँ । प्रतिनिधिसभामा त समानुपातिकले इज्जत जोगाइदिएको छ । यस्तो अवस्था कसरी भयो भनेर समीक्षा गरेर समस्या समाधान गर्न केन्द्रिय कार्य समितिको बैठक आवश्यक छ । पार्टी सभापतिले तत्काल यो बैठक बोलाउनु पर्छ भन्ने हाम्रो धारणा हो ।

त्यसको लागि पार्टी सभापतिलाई कसरी दबाब दिइरहनु भएको छ ? कहिलेसम्म बस्छ केन्द्रिय कार्य समितिको बैठक ?

यसमा दबाब दिनुपर्ने कुरा नै होइन । पार्टी सभापति स्वयमले बुझ्नुपर्ने कुरा हो । खासगरी प्रतिनिधिसभाको निर्वाचन लगत्तै आकस्मिक केन्द्रिय कार्य समितिको बैठक बोलाउनु पथ्र्यो । तर त्यो गर्नु भएन । मलाई आश्चर्य लागिराखेको छ कि किन डाक्नु भएन ? जसले उहाँलाई बैठक नडाक्न वा ढिलो डाक्न सल्लाह दिइरहेका छन्, ती गलत सल्लाह हुन् । पार्टी सभापतिले चाँडोभन्दा चाँडो केन्द्रिय कार्य समितिको बैठक बोलाएर चुनावी समीक्षा गर्नुपर्छ ।

वाम गठबन्धनको घोषणाको बेला नै नेपाली कांग्रेसलाई जुन किसिमको भय पैदा गरेको थियो । त्यसको विरुद्धमा शसक्त रुपमा निर्वाचनमा जानका लागि जुन खालको रणनीति थियो । त्यो के कारणले फेल खायो ?

प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणापछि वाम गठबन्धन बन्यो । त्यसपछि हामीले लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने प्रयास गर्यौँ । राप्रपासंग गठबन्धनको प्रयास गरेर कतिपय ठाउँमा उसलाई सिट छोडेका थियौँ । तर झापा क्षेत्र नं ३ मा राजेन्द्र लिंदेनलाई कृष्ण सिटौलाजीले छाड्न मान्नु भएन । जसको परिणाम देशभरि नै राप्रपाको हामीलाई हृदयदेखि सहयोग हुन सकेन । झापा-३ मा पार्टीले निर्णय गरिसकेको हामीले सुनेका थियौँ । यदि पार्टीले त्यस्तो निर्णय गरिसकेको हो भने त्यसलाई सबैले मान्नुपर्छ । दोस्रो राजपा र संघीय समाजवादी फोरमसंग चुनावी तालमेल गर्ने भनेर अन्तिम अवस्थामा रहेको थियो । केही जिल्लाका केही सिटका कारण तालमेल हुन सकेन । त्यसैले पनि हामीले धेरै सिट गुमाउनु पर्यो । के कारणले मधेशवादी दलहरुसंग तालमेल हुन सकेन त्यसको पनि समीक्षा हुनुपर्छ ।

खासगरी समानुपातिकमा नेपाली कांग्रेसलाई राम्रै मत आएको छ । तर प्रत्यक्ष तर्फ सही व्यक्तिलाई उम्मेदवार बनाउन नसकेको कारण यस्तो भएको हो ?

हो , धेरै ठाउँमा त्यस्तो देखिएको छ । जित्ने मानिसलाई उम्मेदवार बनाइएन । अलोकप्रिय मानिसलाई उम्मेदावर बनाएपछि परिणाम सही आउँदैन । अर्को कुरा टिकट बाँड्ने ठाउँमा बसेका व्यक्तिले आफ्नो नातेदार बाहेकलाई देख्दै देखेनन् । तनहुँमा-२ जना प्रतिनिधिसभा र ४ जना प्रदेश सभा गरी ६ वटै जना एउटै समुदायको र तीन जना त पौडेल नै थिए । न जातीय सन्तुलन छ, न लोकप्रियताको बाटो समाइएको छ । नेपाली कांग्रेसको संसदीय समिति विधानले तोकेको भन्दा बढी संख्यामा बन्यो । यो कुरा नै गलत थियो । परिवार, नातागोताको स्वार्थका कारण राम्रा उम्मेदवार छनोट हुन पाएनन् । त्यसको परिणाम पार्टीले भोग्नु परेको हो ।

अब कांग्रेसलाई सुधार्नका लागि के गर्नुपर्छ ?

मलाई लाग्छ कांग्रेसमा अहिले तीन चिज आवश्यक छ । पहिलो शुद्धिकरण, काँग्रेसलाई हामीले सबली करण गर्न आवश्यक छ । तेस्रो सुदृढिकरण गर्न आवश्यक छ ।  यदि हामीले कांग्रेसमा यी कुरा गर्न सक्यौँ भने काँग्रेस पुनर्ताजगी भएर आउँछ । त्यो भन्दा अघि केन्द्रिय कार्यसमितिको बैठक डाकेर समीक्षा हुन आवश्यक छ ।

अहिले कांग्रेसका कारण राजनीति अड्केको भनेर वाम नेताहरुले भनिरहेका छन् । खासमा यो के हो ?

कांग्रैसका कारण राजनीति अड्केको होइन । उहाँहरुले हतार गरेको मात्रै हो । रेफ्रीको निर्णय पर्खन नसकेको मात्रै हो । जतीसुकै गोल हानेपनि जितेको वा हारेको त खेल सकिएपछि मात्रै निणर्य हुने हो नि । विजेता घोषणा अगावै मेडल चाहियो भनेर पाईँदैन । त्यस कारण यसमा हतार गर्नुपर्ने कारण नै छैन । सबै कुराहरु प्रक्रिया अनुसार हुन्छन् । प्रधानमन्त्री पद पाउने पनि आफ्नै प्रक्रिया छन् । पहिले निर्वाचन आयोगले घोषणा गर्नु पर्यो । दुईवटा दल मिलेमा मात्रै बहुमत हुने स्थिति भएकोले को को मिल्ने हो ? कसलाई संसदीय दलको नेता बनाउने हो ? त्यस कारण मलाई लाग्छ भने मुलुकका प्रधानमन्त्री भइसकेका दुई ठूला दलका नेता प्रचण्ड र ओलीले सत्तामा जानका लागि हतार गरिरहनु भएको छ । यसले उहाँहरुको परिपक्वतामाथि प्रश्नचिन्ह उठ्छ ।

वाम गठबन्धन फुटाउने रणनीतिमा काँग्रेस छ भनेर भनिन्छ नि ?

नेपालको वामपन्थीलाई कसैले फुटाउनै पर्दैन । नेपालको वामपन्थी कहिले एकजुट भएका थिए र फुटाउनु । फुटाउनका लागि पहिले एक जुट त हुनुपर्यो नि । उहाँहरुको सरकार, गठवन्धन पाँच वर्षसम्म टिक्छ जस्तो मलाई लाग्दैन । अहिले नेपाली काँग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने जनादेश भएकाले यो समयमा कसैलाई उचाल्ने काम गर्नु आवश्यक पनि छैन ।

कांग्रेसमा नेतृत्व कै कारण यस्तो अवस्था आएको भनिँदैछ । तपाईहरु जस्ता दोस्रो तहका या युवा नेताहरु अब कुन रुपमा अगाडि आउनुहुन्छ ? कांग्रेसको कमब्याकका लागि तपाईहरुको भूमिका के हुन्छ ?

यसका विभिन्न कारण छन् । त्यस मध्येको एउटा भनेको नेतृत्व विधिसम्मत ढंगले नचुल्नु हो । विधान अनुसार काम नगर्नु यसको कारण हो । नेतृत्व विधि अनुसार चल्नुपर्छ भनेपछि हामी पनि विधि अनुसार चल्नुपर्यो । हामीले पनि कुनैपनि काम गर्दा प्रत्रिया पुर्याएर गर्नुपर्यो । महासमितिको बैठक डाक्नुपर्यो भने केन्द्रिय कार्य समितिबाट पास हुनुपर्छ । जुनसुकै काम गर्दा विधिसम्मत तरिकाले प्रक्रिया पुर्याउनु पर्छ । केन्द्रिय कार्यसमितिको बैठक सभापतिले बोलाएर आफ्नो धारणा राखेर त्यसबाट निस्किएको निष्कर्षलाई कार्यान्वयनतिर जानुपर्छ । पहिले ६५ वर्ष पार गरेपछि बूढा भनिन्थ्यो । अहिले त ७२-७४ वर्षका पनि युवा नेता हुनुहुन्छ । उहाँहरुलाई बूढा भन्दा रिस उठ्ला । त्यस कारण हामी मात्रै होइन नेपाली कांग्रेसभित्र सबै युवा नेताहरु हुनुहुन्छ । हाम्रो धारणा के हो भने नेपाली कांग्रेस आम नेपालीले चाहेजस्तो, आम कार्यकर्ताले चाहेजस्तो पार्टी बन्नुपर्छ । त्यसका लागि गल्ती कमी कमजोरीलाई सच्याउनका लागि सबैले तत्पर हुनपर्छ । सबैले आ–आफ्नो कमी कमजोरी स्वीकार गर्नुसक्नु पर्यो । यदि त्यसो भएमा नेपाली कांग्रेसले एउटा राम्रो सन्देश दिनसक्छ ।