काठमाडौँ– नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला नेपालमा पछिल्लो समय क्रिकेटको क्रेज ह्वात्तै बढेको छ । घरेलु क्रिकेट प्रतियोगितामा पुरस्कारको एक पछि अर्को किर्तीमान बन्दै गएको छ ।


ADVERTISEMENT


गत वर्ष धनगढीमा भएको धनगढी प्रिमियर लिगमा सार्वाधिक १५ लाख पुरस्कार प्रदान गरिएको थियो । त्यसको एक वर्ष बित्न नपाउँदै भर्खरै सम्पन्न एभरेस्ट प्रिमियर लिगले डिपीएलको किर्तीमान ताडेर प्रथमलाई २१ लाख दिएर प्रतियोगिता सम्पन्न गरेको छ । त्यसको पनि अब रेकर्ड तोडिने भएको छ । हो , त्यो रेकर्ड डिपीएलको दोस्रो सिजनले तोड्दैछ । यसपाली ‘डिपीएल–२’ मा प्रथम हुनेलाई सार्वाधिक २५ लाख दिने डिपीएलले घोषणा गरेको छ ।


ADVERTISEMENT

# # #


आज आयोजित एक कार्यक्रममा चैत १७ गतेदेखि बैशाख १ गतेसम्म धनगढीमा हुने प्रतियोगिताको उपाधी जित्ने टिमले २५ लाख रुपैयाँ पाउने आयोजक धनगढी क्रिकेट एकेडेमी डिसिएका प्रमुख सुवास शाहीले जानकारी दिएका छन् । यस्तै ‘डिपिएल–२’ मा दोस्रो हुनेले १० लाख, तेस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

पुरस्कारको लागि मात्रै ‘डिपिएल–२’ मा ५० लाख रुपैयाँ खर्च हुने आयोजक जनाएको छ । प्रतियोगिताको कूल खर्च ३ करोड हुने अनुमान छ ।

हरेक खेलका म्यान अफ द म्याचले २० हजार रुपैयाँ पाउने भएका छन् । यस्तै म्यान अफ द सिरिजले अपाचे मोटरसाइकल पाउनेछ ।

६ वटा टिम हुने, खेलाडी दर्ता बिहीबारदेखि नै सुरु

डिपिएल क्रिकेटमा अघिल्लो वर्ष जस्तै ६ वटा टोली सहभागी हुनेछन् । टिम चौराह धनगढी, सिवाइसी अत्तेरिया, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाण्डौं गोल्डेन्स र विराटनगर किंग्सले खेल्ने डिपिएलको लागि बिहीबारदेखि खेलाडी दर्ता शुरु भएको छ । प्रतियोगिता खेल्नको लागि खेलाडीलाई ३ तहमा बर्गिकरण गरिएको छ ।

‘ए’ तहको लागि पछिल्लो ३ बर्षदेखि नेपाली टोलीमा रहेर १५ वटा अन्तर्राष्ट्रिय खेल खेलेको हुनुपर्नेछ । यस्तै ‘वि’ तहको लागि सबै उमेर समूहका खेलाडीले दर्ता गर्न पाउनेछन भने ‘सि’ तहको लागि कुनै पनि खेलाडीले नाम दर्ता गराउन पाउँनेछन् । खेलाडी दर्ताको लागि इ सेवामा पैसा तिरेर नाम दर्ता गराउने र त्यहाँबाट बारकोड लिएर डिपिएलको आधिकारिक वेवसाइट www.dplofficial.com मा नाम दर्ता गर्न सक्नेछन् ।

खेलाडीले आज बिहीबारदेखि माघ २५ गतेसम्म नाम दर्ता गर्न सक्नेछन । खेलाडीको बोलकवोल अर्थात ‘अक्सन’ फागुन ५ गते हुनेछ । तर हरेक टीमबाट एक एकजना रणनीतिक खेलाडीको नाम भने ‘अक्सन’ अघि नै सार्वजनिक गरिने आयोजकले जनाएको छ । कप्तान छान्ने अधिकार टीमलाई नै हुनेछ ।

२ जना विदेशी र १ जना सुदूरपश्चिमको खेलाडी अनिवार्य

डिपिएलमा सबै ६ वटै टिमले २ जना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने भएको छ । यस्तै १५ जनाको टोलीमा १ जना सुदूरपश्चिमका खेलाडी अनिवार्य हुनुपर्ने नियम राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजन रुस्लान र टिकेटको सहयात्री इ सेवा रहेका छन् ।

डिपिएल २ को अवसरमा १ जना पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपुर्ण योगदान दिएका एकजनालाई अर्जुन खड्का स्मृती सम्मानबाट एक–एक लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

टिकटको २० प्रतिशत रकम फाप्ला मैदानलाई

‘डिपिएल–२’ का लागि लिग चरणको टिकटलाई ५० रुपैयाँ तोकिएको छ । यस्तै प्लेअफ चरणमा ७० र फाइनलमा १०० रुपैयाँको टिकट हुनेछ । टिकट बिक्रिबाट आएको रकमको २० प्रतिशत फाप्ला क्रिकेट मैदानको लागि छुट्याइने आयोजक डिसिएलका प्रमुख सुवास शाहीले जानकारी दिए ।