काठमाडौं-सरकारले प्रदेश नम्बर ५ को अस्थायी केन्द्र (राजधानी) दाङ तोक्ने तयारी गरेको भन्दै कांग्रेस रुपन्देही विरोधमा उत्रिएको छ । आफ्नै पार्टीको सरकारविरुद्ध कांग्रेसले रुपन्देहीमा बिहीबार एक घन्टा चक्काजाम गरेको हो ।


ADVERTISEMENT


कांग्रेसनिकट विद्यार्थी संगठनले पनि बुटवलमा मसालजुलुस प्रदर्शन गर्‍यो । बुटवललाई प्रदेश ५ को अस्थायी केन्द्र तोकिनुपर्ने मागसहित कांग्रेस, एमाले र व्यावसायिक संघसंस्थाले बिहीबार बुटवलमा छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसले बिहीबार बिहान ९ बजेदेखि १० बजेसम्म बुटवल, देवदह, मणिग्राम र सालझन्डीमा एकै साथ चक्काजाम गरेको थियो । चारै नाकामा चक्काजाम भएपछि महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग ठप्प रहे । करिब दुई घन्टा यात्रुहरु सडकमै अलपत्र परेका थिए ।

सरकारले अस्थायी राजधानी बुटवलबाहिर तोके सडकबाटै निर्णय फेर्न बाध्य बनाइने कांग्रेसका नेताहरूले बताएका छन् । चक्काजामपछि आयोजित कोणसभामा बोल्दै कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले प्रदेशको राजधानी निर्माणमा भूगोल नभई बहुसंख्यक सर्वसाधारणको हितलाई हेर्न सरकारलाई आग्रह गरे । ‘अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मभूमि लुम्बिनी रहेको महत्वपूर्ण स्थानलाई पाखा लगाउनु गम्भीर आपत्तिको कुरा हो, यस विषयमा सरकार संवेदनशील हुन्छ’, उनले भने । उनले प्रदेशको केन्द्र तोक्ने विषयमा गम्भीर भएर निर्णय लिन सरकारलाई आग्रह गरे ।

कांग्रेस महासमिति सदस्य युवराज गिरीले सडक र पार्टी च्यानलबाट सरकारलाई निरन्तर दबाब दिइने बताए । ‘पार्टीको सरकार भए पनि हामी चुप लागेर बस्दैनौं, बुटवललाई प्रदेशको केन्द्र बनाएरै छाड्छौं’, उनले भने ।

५२ संस्थाको दबाब
यस्तै प्रदेशको केन्द्र बुटवलमा हुनुपर्ने भन्दै रुपन्देहीमा रहेको व्यावसायिक संघ संस्थाले पनि दबाबमूलक कार्यक्रम गरेका छन् । बुटवलको पुष्पलाल पार्कबाट ट्राफिक चोकसम्म र्‍याली प्रदर्शन गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, पश्चिम नेपाल बस व्यवसायी संघ, होटल व्यवसायी संघ, उद्योग व्यापार संगठन लगायतका ५२ संघसंस्था दबाबमूलक र्‍यालीमा सहभागी भएका थिए । व्यवसायीले बुटवललाई केन्द्र नबनाए प्रदेशका लागि नै नोक्सान हुने बताए । मुलुककै महत्वपूर्ण आर्थिक केन्द्रका रूपमा विकास भएको रुपन्देहीलाई केन्द्र बनाउनु प्रदेशको हितमा हुने उनीहरूको भनाइ छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले बुटवलमा प्रदेश कार्यालयका लागि भौतिक संरचनाका नभएको भन्नु गलत हुने भन्दै व्यवसायी एक भएर दबाबमूलक र्‍यालीमा निस्किने बताए ।

त्यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले प्रदेशकै ठूलो सरकारी संरचना सुगम स्थानमा राख्नुपर्ने बताउँदै भूगोलको विकासका नाममा साँघुरो घेरामा राख्न नहुने बताए । ‘बुटवल केन्द्र हुँदा सबै पहाडी जिल्लाको विकासमा एकरुपता आउँछ,, आर्थिक राजधानी निर्माण र बलियो प्रदेश निर्माणका लागि बुटवलमा केन्द्र हुनुपर्छ’, उनले भने ।

बिहीबार आन्दोलनमा उत्रिएका कांग्रेससहित व्यापारिक संघ-संस्थाले बुटवलबाहेक अन्यत्र केन्द्र तोक्ने संकेत पाउनासाथ आन्दोलन चर्काउन चेतावनी दिएका छन् ।