काठमाडौं-प्रहरीले युवा संघ नेपाल रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई नेपाल ल्याउने तयारी गरेको छ । प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल र कतार प्रहरीसँग गरेको समन्वयमा उनलाई ल्याउन लागेको हो ।


ADVERTISEMENT


अपराध अनुसन्धान विभागका प्रमुख एआईजी बमबहादुर भण्डारीले सिंजालीलाई ल्याउन कतार प्रहरीसँग समन्वय भइरहेको बताए । उनले भने, ‘सूचना साँचो हो, तर नेपाल ल्याइसकेका छैनौं ।’ सिंजालीलाई एकदुई दिनभित्रै ल्याउने तयारी रहेको स्रोतले बतायो । सिंजालीलाई कतार प्रहरीले पक्राउ गरिसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


तिवारी हत्याको जिम्मेवारी लिएका र प्रहरी अनुसन्धानबाट मुख्य योजनाकार भनिएका मनोज पुन अझै फरार छन् । पुनलाई सघाउने सोमबहादुर आले, श्याम गुरुङ, सिंजाली र राजु नाकमा सुटर पनि फरार छन् ।

अहिले नेपाल ल्याउन लागिएका सिंजालीले भने तिवारी हत्यामा प्रयुक्त पेस्तोल व्यवस्था गरेको र हत्यापछि फेरि आफैंले लगेको प्रहरीको आरोप छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भने तिवारी हत्याको मुख्य योजनाकार समीरमानसिंह बस्नेत भएको ठहर गरेको छ । बस्नेत अहिले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा पक्राउ परिसकेका छन् ।

२०७३ पुस ४ मा रूपन्देहीको देवदह नगरपालिकाको खैरेनी बजारमा तिवारीको गोली हानी हत्या गरिएको थियो । प्रहरीले तिवारी हत्यामा प्रयुक्त मोटरसाइकल, सुटरलाई भगाउन सघाउने मोटरसाइकल चालकलगायत केहीलाई पक्रे पनि हत्यामा प्रत्यक्ष संलग्न अभियुक्त पक्रन सकेको छैन ।

फरार सबैलाई रूपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सबै फरारहरू अहिले प्रहरीको ‘रेड कर्नरु सूचीमा छन् । मनोज पुन युवा संघमै थिए । उनले चन्दा असुली र ठेक्कापट्टाबाट पैसा उठाउन थालेपछि तिवारीले कारबाही गर्ने चेतावनी दिएका थिए । कारबाही रोक्न पुनले दबाब दिए पनि तिवारीले नमानेपछि दोस्रो प्रयासमा गोली हानी तिवारीको हत्या गरिएको थियो ।