मेष बहादुर बस्नेत, काठमाडौँ – आगामी जुन १८ देखि जिम्बाब्बेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले रोहित पौडेलको कप्तानीमा २२ सदस्यीय टोली घोषणा भएको हो ।


ADVERTISEMENT


नेपाली टोलीमा यसअघि एसीसी प्रिमियर कप खेलेको टिमका १४ सदस्यसहित केही नयाँ खेलाडीहरु परेका छन् । जसमा अविनाश बोहरा, किशोर महतो, देव खनाल लगायत रहेका छन् । २२ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर केही दिनको अभ्यासपछि १५ सदस्यीय अन्तिम टोली घोषणा हुने क्यानले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तो छ प्रारम्भिक टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अविनाश बोहरा ।

नेपालले विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । त्यहाँ नेपालले नेदरल्याण्ड र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ । त्यसका लागि नेपाली टोली जुन १ भित्र प्रस्थान गर्ने बताइएको छ । दक्षिण अफ्रिकामा तयारी गरेर नेपाली टोली विश्वकप छनोटका लागि त्यतैबाट जिम्बाब्बे प्रस्थान गर्नेछ ।

विश्वकप छनोटमा वेष्ट इण्डिजसहित, नेपाल, श्रीलङ्का, जिम्बाब्बे, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, ओमान, युएई र अमेरिका गरी १० राष्ट्र रहेका छन् । उत्कृष्ट २ मा पर्न सके नेपाल यही वर्ष भारतमा हुने एकदिवसीय विश्ककपमा स्थान बनाउनेछ ।