काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण विषयमा पूर्वप्रधानमन्त्रीहरु र परराष्ट्रमन्त्रीहरुसंग परामर्श गरेका छन् ।


ADVERTISEMENT


आइतबार सिंहदरबारमा भएको छलफलमा सरकारात्मक सुझाव प्राप्त भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । उनले अब पूर्वराजदूत, विज्ञको पनि सुझाव लिएर राष्ट्रको हितमा भारत भ्रमणलाई उपयोग गर्ने बताए । आफ्नो भारत भ्रमण राष्ट्रिय सहमतिमै हुने उनको भनाइ छ । उनले भने, ‘छलफल सकारात्मक भएको छ । सबैले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने कुरामा सकारात्मक सुझाव दिनुभएको छ । यसमा राष्ट्रिय सहमति हुन्छ ।’


ADVERTISEMENT

# # #


त्यस्तै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पारावहन, सीमा समस्या, इपिजी प्रतिवेदन बुझ्ने लगायतका विषयमा ध्यान केन्द्रीत गर्न सुझाव दिएको बताए । उनले नेपाल–भारत पानीको विवादलाई पनि समाधान गर्नुपर्नेमा जोड दिएको जिकिर गरे ।  उनले भने, ‘हाम्रा सीमा समस्या छन्, व्यापार र पारवाहनका समस्या छन्, खुला सिमाना र सन्धिका समस्या छन् । यी सबैलाई एकमुष्ट समाधान गर्नका लागि मेरो पालामा सुरु भएको र केपीजीको पालामा गठन भएको ईपीजीको प्रतिवेदन ग्रहण गर्दा नै सबैभन्दा राम्रो हुन्छ । त्यो भयो भने धेरै समस्या हल हुन्छन् भन्ने सुझाव मैँले दिएको छु ।’

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाको विषयलाई पनि टुंगोमा लगाउनुपर्ने, ईपीजी प्रतिवेदन बुझ्नका लागि जोड दिनुपर्ने सुझाव दिएको बताए । त्यस्तै अन्य सहभागीहरुले राष्ट्रहितलाई केन्द्रमा राखेर वार्ता र छलफल गर्न सुझाव दिएका थिए । उनले भने, ‘अरु कुराहरुमा हाम्रो विमति भए पनि राष्ट्रियता, बाह्य सम्बन्ध र परराष्ट्र नीतिहरुमा प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई हाम्रो पूर्ण समर्थन रहन्छ । समथै भारतका कारण ईपीजीको रिपोर्ट बुझ्ने काम भएको छैन । त्यो बुझ्दा मात्रै दुईदेशबीचको सम्बन्धलाई नयाँ आयाम दिन्छ भनेर हामीले भनेका छौँ ।’

यस्तै पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्रीलाई आफूले भारत भ्रमणका क्रममा नेपालले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर पूर्ण आत्मविश्वासका साथ कुरा राख्न सुझाव दिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले यहि १७ गतेदेखि भारत भ्रमण गर्दै छन् ।