काठमाडौँ – निजी क्षेत्रका व्यवसायीहरुले सरकारले ल्याएको बजेट कार्यन्वयनमा ध्यान दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेट भाषण राम्रो रहेको र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । उनले अहिले आएका विषयहरुबारे थप अध्ययन गरेर प्रतिक्रिया दिने धारणा राखे । उनले भने, ‘बजेटहरु धेरैजसो बजेट भाषणका क्रममा राम्रो आउने तर कार्यान्वयनको प्रक्रियामा राम्रो नभएको हाम्रो परम्परा छ । अहिलेको बजेट विस्तृतमा आर्थिक ऐन हेरेर मात्रै भन्छौँ । तर, निजी क्षेत्रले उठाएका केही कुराहरु यसमा समेटिएको छ ।’


ADVERTISEMENT

# # #


उनले बजेटले निजी क्षेत्रलाई विश्वासमा लिने भने पनि कार्यान्वयन कसरी हुन्छ भन्ने कुरामा निर्भर रहने बताए । बजेटले जग्गा अधिग्रहण, हदबन्दी, वातावरण प्रभाव मूल्याङ्कन, पर्यटन पूर्वाधारका कुराहरु समेट्नु सकारात्मम रहेको उनको भनाई छ ।

त्यस्तै नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले वितरणशील जस्तो देखिएको र मुलुकको अर्थतन्त्र सुधारका लागि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उल्लेख गरे । उनले भने, ‘सीमित स्रोत साधन भएको मुलुकमा यो बजेट अलिकति वितरणमुखीजस्तो देखिएको छ । उत्पादनशील पदार्थ बनाउनका लागि जटिबुटीजन्य, खानीजन्य कुराहरु, कृषिमा विकास गर्ने कुरा ल्याएता पनि जुन किसिमले मुलुकको अर्थतन्त्र संकटमा गइरहेको छ, यसरी वितरण गर्दा संकट हुन्छ कि भन्ने हो ।’

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक क्षेत्रका लागि बजेट राम्रो आएको बताए । उनले बजेट कार्यान्वयन भए आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले ६ वटा औद्योगिक क्षेत्र कार्यान्वयनमा आउनुपर्यो भन्दै आएका थियौँ । बजेटमा दुईवटा औद्योगिक क्षेत्रलाई अघि बढाउने र दुईवटालाई पीपीपी मोडलमा अघि बढाउने प्रतिवद्धता पनि आएको छ । कार्यान्वयन भएमा मात्रै यसको परिणाम देख्न सकिन्छ ।’

उनले बजेबारे विस्तृतमा छलफल गरेर आधिकारिक धारणा राख्ने बताए ।