काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेको अदालतमा बयान सकिएको छ । पाण्डेले बुधबार जिल्ला अदालत काठमाडौंमा बयान दिएका हुन् ।


ADVERTISEMENT


पाण्डेले घटनाको सम्बन्धमा इन्कारी बयान दिएका छन् । बैंक खातामा जम्मा भएको रकमको सम्बन्धमा उनले ऋण बापत प्राप्त भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


पाण्डेले नक्कली भुटानी शरणार्थीका नाममा असुल गरिएको रकम निजी सुरक्षा गार्ड धर्मराज शाहीमार्फत निजी बैंक खाता जम्मा गर्थे । धर्मराज नेपाल प्रहरीका वरिष्ठ सई हुन् । उनले आठ महिनाको अवधिमा एभरेष्ट बैंकमा रहेको निजी खाता नं. ००१००१०५००००१८ मा आठ पटक रकम जम्मा गराएका थिए ।

हिमाल बैंकमा रहेको उनको अर्को निजी खाता नंं. ०२७०४६७२४७००१८ मा तीन पटक रकम जम्मा गराएका थिए । उनले धर्मराजमार्फत दुई वटा बैंक खातामा २०७८ साल २ मंसिर ११ फागुनसम्म ८४ लाख ९४ हजार ९७ रुपैयाँ जम्मा गरेका थिए ।

पाण्डेले उक्त रकम बिचौलिया मध्येकै केशव दुलाल, सन्देश शर्मा र सानु भण्डारीबाट लिने गरेका थिए । सोही क्रममा दुलालले एक करोड २४ लाख ५० हजार रुपैयाँ नगदै बुझेका थिए । धन्दाका सम्बन्धमा उनले मुख्य बिचौलिया केशव दुलालसँग एसएमएसमार्फत पनि बाक्लो कुराकानी हुने गर्थ्याे ।

सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको प्रतिवेदनमा उल्लेखित एमएमएस अनुसार बिचौलिया दुलाललाई सचिव पाण्डेले क्याम्पभित्र र बाहिर रहेका नेपालीलाई शरणार्थी बनाउन आश्वास्थ तुल्याउँदै गरेको देखिन्छ ।

यसका लागि यूनसीएचआरसँग बैठक बस्ने र त्यसपछि सबै काम हुने जानकारी एसएमएसमार्फत पाण्डेले दुलाललाई दिएका छन् । तर अदालतसँगको बयानमा उनले दुलालसँगको वार्ता पनि इन्कार गरेका छन् । उनले सबै वार्ता भावावेश आएर भएको बयान दिएका छन् ।