जनकपुरधाम– मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा तीन दिवसीय विमर्श कार्यक्रम हुने भएको छ ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अयोजक संस्था विमर्श फाउण्डेशनका अध्यक्ष विभा झाले यही जेठ २६–२८ सम्म तीन दिने ‘विमर्श एक दीप चेतनाक’ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए ।
उनले तीन दिनमा जनकपुरको समृद्ध इतिहास र वर्तमान, मैथिली साहित्यको समकालीन परिदृश्य, उद्योग, जलाधार संरक्षण, राजनीति, स्त्री विमर्श, कवि सम्मेलन, साहित्यिक तथा सांस्कृतिक सन्ध्यालगायतका कार्यक्रममा हुने बताए।
कार्यक्रममा सहयोगी संस्था नेपोटिभ टायल्सका सञ्चालक श्यामनाथ झाले करिब रु १२ लाखको लागत अनुमान गरिएको कार्यक्रम कुनै दातृ तथा सहयोगी संस्थाबाट सहयोग नलिई आफ्नो आम्दानीबाट खर्च आयोजना गर्न लागिएको बताए । कार्यक्रममा साहित्यकार रमेशरञ्जन झाले विमर्शका माध्यमबाट नेपालीपछि सबैभन्दा बढी बोलिने मैथिली भाषा, यहाँको साहित्य, दर्शन र समकालीन समाजका सिर्जनाका विषयमा एउटा निष्कर्षमा पुग्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यक्रमलाई मैथिली साहित्यको महोत्सवका रूपमा मनाउन सबैलाई सहयोगका लागि आग्रह गरेका छन् ।