काठमाडौं-अस्ट्रेलियाको सिड्नीमा सहरको तापक्रम शनिबार ४७.३ डिग्री सेल्सियस पुगेपछि जनजीवन प्रभावित भएको छ । जलवायु विज्ञान ब्युरोका अनुसार उक्त तापक्रम ७९ वर्षयताकै उच्च हो । यसअघि सन् १९३९ मा रिचमन्ड सहरको तापक्रम ४७ दशमलव ८ डिग्री पुगेको थियो ।


ADVERTISEMENT


गर्मी बढेसँगै कल्याणकारी संघसंस्थाका प्रतिनिधिले सार्वजनिक स्थानमा पानी वितरण गरिरहेका छन् । अधिकारीहरूले अत्यधिक गर्मीका कारण कतिपय स्थानमा विद्युत् आपूर्ति मिलाउन समस्या पुगेको बताएका छन् ।


ADVERTISEMENT

# # #


गर्मीका कारण सिड्नीको क्रिकेट मैदानमा इंग्ल्यान्डका ब्याट्सम्यानले अस्ट्रेलियाविरुद्धको टेस्ट खेल्न निकै संघर्ष गरेका थिए । तापक्रम ४० डिग्रीबाट उकालो लागेपछि सिड्नी अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका खेलहरू स्थगीत भएका थिए ।

अत्यधिक गर्मीका कारण फोटोपत्रकारका क्यामेरा समेत बन्द भएका थिए । फोटो पत्रकार जामी पन्दरामले गर्मीका कारण तस्बिर लिन नसकिएको टवीटरमा उल्लेख गरेका छन् । न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले मानिसहरूलाई आफ्नो स्वास्थ्यबारे ध्यान दिन सचेत गरेको छ ।

ट्वीटरमार्फत जारी सूचनामा उल्लेख छ, ‘आफ्नोस्वास्थ्यबारे विशेष ध्यान दिनुहोला । निकै गर्मी हुनेवाला छ ।’ उसले मानिसहरूलाई प्रशस्त पानी पिउन, समुद्रमा सुरक्षित पौडी खेल्न र बच्चाहरूको विशेष ख्याल गर्न सुझाएको छ ।

अधिकारीहरूले आगलागी फैलन सक्ने भन्दै चेतावनी दिएका छन् । उनीहरूले सिड्नी क्षेत्रमा आगो सल्काउन रोक लगाइएको बताए । यसअघि शनिबार भिक्टोरिया र दक्षिणी क्षेत्रमा आगलागी फैलिएका कारण केही भौतिक सम्पत्तिमा क्षति पुगेको थियो । अधिकारीले देशका विभिन्न २० ठाउँमा फैलिएको आगलागीमध्ये ४ स्थानमा नियन्त्रणको प्रयास जारी रहेको जनाएका छन् ।

अस्ट्रेलियामा सन् २०१६ को डिसेम्बरदेखि २०१७ को फेब्रुअरीबीचमा २ सयभन्दा बढी मौसमसम्बन्धी रेकर्ड कायम भएका थिए । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण अस्ट्रेलियाको तापक्रममा अत्यधिक वृद्धि भएको हो । उनीहरूले मंगलबारसम्म मौसममा कुनै सुधार नआउने बताए ।