काठमाडौं-सरकारले नेपाल गुणस्तर प्रमाणपत्र चिन्ह नलिएका ग्यास उद्योगमा अनुगमन तीब्र बनाएको छ । नापतौल तथा गुणस्तर विभागले आवश्यक गुणस्तरको मापदण्ड पुरा नगरेर चलाएका उद्योगमाथि कारबाही सुरु गरको छ । विभागले शुक्रबार र आइतबारको अवधिमा ५ वटा उद्योगमाथि कारबाही गरिएको जनाएको छ ।


ADVERTISEMENT


काभ्रेमा रहेका चण्डी, सागर, सुर्य, ओम र नमस्ते ग्यासको उत्पादन प्लान्टमा सिलबन्दी गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘आवश्यक मापदण्ड पुरा गरेर एनएस चिन्ह नलिएका तथा सुरक्षाका दृश्टिकोणबाट समेत संवेदनशिल देखिएका उद्योगहरुमाथि कारबाही थालिएको छ। दुई दिनको अवधिमा ५ वटा उद्योग मापदण्ड विपरीत देखिए’ उनले भने ।

पुडासैनीले कारबाहीमा परेका उद्योगहरुलाई उत्पादन बन्द गराएर गुणस्तरको न्युनतम मापदण्डमा अपग्रेड हुन तथा मापदण्ड पुरा गर्ने प्रक्रियामम रहेको जनाउ दिने कागजपत्रसहित उपस्थित हुन १५ दिनको समय दिइएको बताए। एकै पटक अनुगमनमा निस्केर उद्योग बन्द गर्दा बजारमा उपभोक्ताले ग्यास सहजरुपमा नपाउने हुन् किन भनेर ताकेतामात्र गरेपनि अब फिल्डमै उत्रिएर अनुगमन थालिएको उनको भनाइ छ ।

‘कानुनले तोके बमोजिमका सम्पूर्ण सुरक्षाका मापदण्ड पुरा गरेका उद्योगलाई विभागले एनएस चिन्हद्वारा प्रमाणिकरण गर्छ, तर ग्यास जस्तो संवेदनशिल पदार्थमा लापरबाही गर्दा देशले ठूलो जनधनको क्षती ब्यहोर्नु परेको छ’ उनले भने ‘अब लापरबाही गर्नेप्रति हामी सद्धभाव देखाउँने छैनौँ ।’

यस अवधिमा उद्योगलाई जरिवानादेखि बन्द गर्ने सम्मको कारबाही थालिने विभागले बताएको छ । केही दिनअघि बीरगंजस्थित सुपर ग्यास उद्योगमा आगलागी हुँदा धनजनको क्षति भएपछि विभाग आक्रामक रुपमा प्रस्तुत भएको हो ।

३१ उद्योगले दिए एनएस चिन्हको आवेदन

देशभर रहेका ५५ वटा जम्मा ग्यास उद्योगमध्ये केवल ४ उद्योगले मात्र एनएस चिन्ह लिएका छन् । हालसम्म साई बाबा, नेपाल, मनोज र श्री कृष्ण ग्यास उद्योगले मात्र सो चिन्ह लिएका विभागले जनाएको छ ।

यसबाहेक अन्य ११ वटा उद्योगले एनएस चिन्हको आवेदन दिएपनि झारा टार्नेरुपमा मात्र निवदेन दिएका थिए । तर विभागको अनुगमन पश्चात भने थप २१ वटा उद्योगले एनएस चिन्हप्राप्तिको आवेदन दिएको पुडासैनीले जनाए ।

‘११ वटा उद्योगले एनएस चिन्हाका लागि आवेदन दिएका थिए । तर तीनले गम्भीररुपमा नभएर झारा टार्ने हिसाबले मात्र निवदेन दिएको देखिन्थ्यो । हाम्रो अनुगमन पश्चात भने व्यवसायीहरु गम्भीररुपमा आएका छन्’, पुडासैनीले भने ।

उनले विभागको अनुगमन पश्चातच थप २१ वटा उद्योगले एनएस चिन्हको आवेदन दिएको बताए । अनुगमन पुर्व ११ तथा त्यसपश्चात २१ गरी हालसम्म ३२ वटा उद्योगले आवेदन दिएको उनले जानकारी दिए । नोबेल, मेट्रो, श्री राम, जानकी, कोशी, श्री, एनएल, बाबा, सगरमाथा लगायतका ग्यासले आवेदन दिएको पुडासैनी जनाए ।

विभागले गत वर्ष्भित्रमै एनएस चिन्ह लिन ग्यास उद्योगहरुलाई बारम्बार सचेत गराएको थियो । तर संवदेनशील बस्तुमा अपनाइनु पर्ने सुरक्षा मापदण्डमा हेलचेक्रयाँई गरी अटेर गरेपछि विभागले कारबाही सुरु गरको हो । तर ग्यास उद्योगीले भने सरकारले तोकेको मापदण्डका सम्पूर्ण नियम पालना गर्ने क्षमतामा नरहेको भन्दै आलटाल गरिरहेका छन्।